नेकपा (माओवादी केन्द्र) का प्रभावशाली युवा नेता क. भबिसोर पराजुली लामो समयदेखि देशको विकास र सम्वृद्धिका लागि योगदान पुर्याउँदै आईरहनु भएको छ ।  हालै उहाँले नेपालकै पहिलो सुशासन र सम्वृद्धिका लागि वृहत सम्मेलन नवलपुर को आयोजनामा लाग्नुभएको छ । अहिले राष्ट्रिय रुपमै चर्चामा सुशासन र सम्वृद्धिको वारेमा अहिले व्यापक छलफल र बहस सुरु भएको छ । यहि विषयमा उहाँसँग गरिएको संक्षिप्त कुराकानी ।

नेपालकै पहिलो सुशासन र सम्वृद्धिका लागि वृहत सम्मेलन नवलपुरको कावासोतीमा आगामी फागुन १८ र १९ गते तपाईकै नेतृत्वमा सम्पन्न हुँदैछ । यो कस्तो सम्मेलन हो ?

यो सुशासन र सम्वृद्धिका लागि व्यवहारिक र वस्तुवादी विकासको नयाँ मोडेल माथि व्यापक छलफल गरी त्यसलाई नवलपुर घोषणा–पत्रको रुपमा जारी गर्ने नेपालकै पहिलो सम्मेलन हो । यस सम्मेलन द्धारा जारी गर्ने घोषणा–पत्रले देशमा सुशासन, छिटो विकास र एकताका लागि उपयुक्त मार्ग निर्देशन गर्नेछ ।

त्यसमा सहभागिताको मापदण्ड के बनाउनु भएको छ ?

देशभित्र र बाहिर रहेका सबै विकासप्रेमीहरु तथा सम्वन्धित विज्ञहरु एवं आमसमुदायहरुलाई सहभागिता गराउने खुल्ला मापदण्ड बनाईएको छ । तर सहभागितालाई उपलब्धीमूलक बनाउन विशेष कार्यविधि तयार गरिने छ ।

यो राजनीतिक दलसँग सम्वन्धित हो कि स्वतन्त्र हो ?

यो कुनै दलविशेषको नभएर विशुद्ध सुशासन र सम्वृद्धिका लागि सबैको साझा र स्वतन्त्र कार्यक्रम हो । सम्मेलन आयोजक समितिमा पनि सबैदलका साथीहरु हुनुहुन्छ । सहभागिता पनि त्यही हिसाबले हुनेछ । विशेषतः सुशासन र सम्वृद्धिका लागि चिन्तन मनन गर्ने र यसक्षेत्रमा योगदान दिदै आउनु भएका सबैको अपनत्व हुने गरी सम्पन्न गर्न खोजिएको छ ।

यसप्रकारको सम्मेलन नवलपुरको कावासोती मै आयोजना गर्नुको अर्थ के हो ?

हामी सबैलाई थाहा छ । नेपालकै सबैभन्दा ठुला उद्योगहरु यही क्षेत्रमा रहेकाछन् । त्यसमाथि नवलपुर देशकै विच भागमा अवस्थित र भौगोलिक सुगमता रहेकोले नवलपुरलाई नेपालकै सवैभन्दा ठूलो औद्योगिक क्षेत्रको रुपमा विकास गर्न सकिने बलिया आधारहरु रहेकाछन् । यसअर्थमा सुशासन र सम्वृद्धिका लागि व्यवहारिक र वस्तुवादी विकासमा मोडेल तयार गर्ने वृहत सम्मेलन नवलपुरमै आयोजना गर्न खोजिएको हो ।

सम्मेलनमा कस्तो प्रकारको विकास मोडेल प्रस्तुत गर्दै हुनुहुन्छ ?

सम्मेलनमा हामीले विगत एकदशक लगाएर विश्वका विकसित देशहरुले प्रयोग गरि सफल भएका विकासका मोडेलहरु र नेपालले अहिले सम्म कार्यान्वयनमा ल्याएका विकासका योजनाहरु एवं नेपाललाई छिटो विकास गर्न सकिने आधारहरु माथि गम्भीर अध्ययन र अनुसन्धान मार्फत नेपालमा लागु भई सफल हुने एउटा व्यवहारिक र वस्तुवादी विकासको मोडेल प्रस्तुत गर्नेछौं । सम्मेलनको बन्दशेसनमा त्यसमाथि व्यापक छलफल हुनेछ र  त्यसलाई अझ थप परिर्मािर्जत र विकसित गरी नेपालको नयाँ विकासको मोडेलको रुपमा सार्वजानिक गर्नेछौं ।

 

सम्मेलन कति दिनसम्म चल्ने छ ?

सम्मेलन दुई दिनसम्म चल्ने छ । पहिलो दिन उद्घाटन समारोह सम्पन्न हुनेछ भने दोस्रो दिन बन्द शेसन चल्नेछ । त्यही बन्दशेसनबाटै नवलपुर घोषणा–पत्र जारी गर्दै सम्मेलन समापन भएको घोषणा गरिनेछ ।

सम्मेलनको प्रमूख अतिथिको रुपमा कसलाई ल्याउँदै हुनुहुन्छ ?

सम्मेलनको उद्घाटन प्रधानमन्त्री द्धारा गराउने र राजनीतिक दलका प्रमूखहरुलाई विशेष अतिथिको रुपमा तथा सुशासन र सम्वृद्धिका क्षेत्रमा विशेष योगदान पुर्याउँदै आएका विशिष्ट व्यक्तित्वहरुलाई अतिथिको रुपमा आमन्त्रण गर्ने निर्णय भएको छ भने यसक्षेत्रका सवै व्यक्तिहरुलाई प्रतिनीधि र पर्यवेक्षकको रुपमा बोलाईने योजना रहेको छ ।

गत माघ १८ गते भेला आयोजना गरी सम्मेलन मूल आयोजक समिति चयन गर्नुभयो । अहिले त्यससमितिले काम कसरी अगाडी बढाएको छ ?

मूल आयोजक समितिको वैठक बसि सम्मेलन व्यवस्थित र प्रभावकारी रुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरु चयन गरिएकोछ । अहिले त्यी उपसमितिका वैठकहरु बसि रहेकाछन् । छिटै मूल आयोजक समितिको बैठक बसी तोकिएकै समयमा सम्मेलन भव्य र सब्य रुपमा सफल पार्न कार्यविधि तयार गर्ने योजनामा रहेका छौं ।

अन्तमा के भन्नु हुन्छ ?

देशको वर्तमान अवस्थामा नेपालकै पहिलो पटक सुशासन र सम्वृद्धिका लागि वृहत सम्मेलन आयोजना हुनु देशबासीको लागि ज्यादै खुशीको कुरा हो । त्यसमा पनि नवलपुरमा सम्पन्न हुन लागि रहेकोमा सम्पूर्ण नवलपुरवासीको लागि गर्वको कुरा हो । त्यसैले आ –आफ्नो ठाउँबाट आर्थिक, नैतिक र भौतिक सहयोग गरी यससम्मेलनलाई भव्य र सव्य रुपमा सफल पारिदिनुहुन सवैमा हार्दिक अनुरोध गर्दछु ।