भागीरथी श्रेष्ठ

एउटा रमणीय घना जङ्गल थियो । जहाँ स्याल, मृग, सिंह, भालु, बाघ, चितुवा, जरायो आदि इत्यादि जनावरहरू बस्थे ।

एकपटक चार-पाँचजना मृगहरू मिलेर जङ्गली फलफूल टिपी जङ्गलको खुला ठाउँमा बसेर बाँडीचुँडी खान लागेका थिए । त्यही बेला एउटा चतुर र धूर्त स्याल घुमिफिरी त्यहाँ आइपुग्यो ।

मृगहरूले मीठा मीठा फलफूलहरू खान लागेको देखेर स्यालको जिब्रो लोभले रसाउन थाल्यो । उसले मृगहरूलाई फकाउने जुक्ति झिक्यो ।

उनीहरूको नजिक गएर खुसामद गर्दै भन्यो “मृग भाइहरू हो । हरे शिव Û तिमीहरूलाई सधैं एउटै खाले फलफूल खाँदा दिक्क लाग्दैन । मैले त कस्तो मीठो मीठो खाना खान पाउँछु” थाहा छ – सहरमा मेरो कुकुर साथी छ – उसले मलाई सहरका मीठा खानेकुराहरू चकलेट, विस्कुट, चाउचाउ ल्याइदिएको छ । खाँदा खाँदा नसकेर ओडार छोडेर आएको छु । यस्तो सधैं खान पाउने फल किन खान्छौ ? हिँड मेरो ओडारमा नयाँ मीठा खानेकुरा खान पाउनेछौ । सोझा मृगहरू चकित भएर स्यालको कुरा सुनिरहे र आपसमा मुखामुख गर्न थाले ।

“किन आनाकानी गरेको ? मेरो कुरामा विश्वास नगरेको ? म झुटो बोल्छु र तिमीहरू जस्ता सोझो भाइहरूसँग ? हिँडाँै – छिट्टै अरूले खाइदेलान् र हिस्स परौला ।”

छट्टु स्यालको कुरामा सोझा मृगहरूले विश्वास गरे आफूले खान लागेको फलफूल अलपत्रै छोडेर स्यालको पछि लागे ।

ओडारनिर पुगेपछि स्यालले बहाना गर्दै भन्यो – “मृग भाइहरू हो Û म बस्ने ओडार यही नै हो । तिमीहरू गएर खाँदै गर । म दिसा गरेर आउँछु ।”

मृगहरू ओडारभित्र पसे – के के न खान पाउँछु भनेर । ओडारभित्र ढुङ्गा, माटो र घाँसबाहेक केही थिएन ।

मृगहरू जिल्ल परे । तिनीहरूले आपसमा सल्लाह गरे । धूर्त स्यालले हामी सोझाहरूलाई झुटो बोलेर झुक्यायो – त्यसलाई जसरी भए पनि खोजेर कडा सजाय दिनुपर्छ । अबदेखि हामीले त्यस्ता दुष्टहरूको कुरामा बहकिनु हुँदैन । लौ जाऔँ त्यसलाई खोज्न ।”

मृगहरू आˆना फलफूल छाडेर गएको ठाउँमा आउँदा त्यहाँ एउटा फल पनि बाँकी थिएन । मृगहरूले विश्वास गरे – यी फलहरू खान नै त्यो लोभी स्यालले हामीलाई झुक्याएको हो ।

तिनीहरू मिलेर जङ्गलभरि स्याललाई धुइँधुइँती खोज्न थाले ।

एउटा बडेमानको रूखको कुनामा बसेर स्याल छिटोछिटो कपाकप फलहरू खाइरहेको मृगहरूले देखे । तिनीहरू मिलेर भाग्न लागेको स्याललाई पक्रेर घिसार्दै ल्याएर एउटा गहिरो पोखरीमा फालिदिए ।

एउटा मृगले स्याललाई गाली गर्दै भन्यो – “हामीले दुःख गरेर टिपेर ल्याएको फलफूल लुट्न हामी सोझालाई झुक्याइस् । हाम्रो फलफूल लुटिस् । तँ बदमास अब यही पोखरीमा मर् ।”

स्यालले पोखरीमा उम्रेको साना बुट्यानहरू समात्दै रुँदै भन्यो – “मलाई माफ गर । मलाई बचाऊ । मेरा छोराछोरी भोकै छन् । मैले नै खानेकुरा खोजेर लैजानुपर्छ । अबदेखि यसरी तिमीहरूलाई झुक्याउने छैन – झुटो बोल्ने छैन ।

अर्को मृगले भन्यो – “अर्काले दुःख गरेर टिपेको खानेकुराको अबदेखि लोभ गर्न पाइँदैन । आˆनो र छोराछोरीको लागि आफैँ दुःख गरेर खानेकुरा खोज । जब हामीले दुःख गरेर यो जङ्गलमा खानेकुरा भेटाउँछौँ भने के तैँले भेटाउन्नस् ? तँ लोभी, पापी, अल्छी र लुटेरा भएकोले नै पाउन्नस् – अर्काको कुरामा आँखा लगाउँछस् पापी ।”

स्यालले रूँदै विलाप गर्दे जीवन रक्षाको लागि भिख माग्यो । मृगहरूको मनमा दया पलायो ।

एउटा बुज्रुग मृगले भन्यो – “आज तँलाई बचाउँदैछौँ । फेरि बदमासी गरिस् भने हामीबाट तँ बच्ने छैनस् ।”

मृगहरूले रूखका लहरा तानेर स्यालनेर पुर्‍याए – त्यही लहरा समाउँदै स्याल बाहिर निस्कियो ।

थुरथुर काम्दै मृगहरूसँग माफी माग्दै त्यहाँबाट स्याल शिर झुकाउँदै हिँड्यो ।