नेकपा (माओवादी केन्द्र) का वरिष्ठ युवा नेता क. भबिसोर पराजुली लामो समयदेखि देशको विकास र सम्वृद्धिका लागि योगदान पुर्याउँदै आईरहनु भएको छ । उहाँले भर्खरै ल्याउनु भएको विकासको मोडेल “गाउँको विकास समृद्धिका लागि नयाँ सामुदायिक अभियान”अहिले राष्ट्रिय रुपमै चर्चामा आएको छ र यहि अभियानको वारेमा अहिले व्यापक छलफल र बहस सुरु भएको छ । यहि विषयमा उहाँसँग गरिएको संक्षिप्त कुराकानी ।


अहिले तपाईले ल्याउनु भएको “गाउँको विकास समृद्धिका लागि नयाँ सामुदायिक अभियान” निकै चर्चामा छ । त्यो अभियानको मोडेल कसतो हो ?

यो “समृद्ध गाउँ निर्माणका लागि नयाँ सामुदायिक अभियान” परियोजनाको रुपमा गाउँबाट सुरु गरिने सामुदायिक विकासको मोडल हो । यसलाई सरकार र समुदायको संयुक्त लगानीमा प्रत्येक गाउँमा ईकाई बनाएर सम्वधित ठाउँमा चल्ने उद्योग स्थापना गरी संचालनमा ल्याउने सामुदायिक विकास परियोजना हो । यसले गरिबी निबारणका साथै घर घरमा रोजगारी दिने मात्र नभई गाउँका प्रत्येक व्यक्तिको आयस्तर वृद्धि भई जिवनस्तरमा परिवर्तन ल्याउने छ र छोटो समयमा हाम्रा प्रत्येक गाउँहरु विकसित र समृद्ध बनाउँछ । नेपालको सन्दर्भमा गाउँहरु विकसित र सम्मृद्ध नबनाईकन समुन्नत राष्ट्रको कल्पना गर्न पनि सकिन्न ।

अब बन्ने सरकारले तपाईको यो अभियानलाई लागु गर्छ ?
गर्छ । गर्नुपर्दछ । किनकि बास्तवमा अव बन्ने सरकारले यही विकास मोडेललाई आफ्नो नीति तथा कार्यक्रममा समावेश गरी “गाउँको विकास समृद्धिका लागि नयाँ सामुदायिक अभियान”को नाम दिएर प्रत्येक गाउँ–गाउँमा परियोजना लागु गर्नुपर्दछ । त्यसले प्रत्येक गाउँलाई विकसित र समृद्ध बनाउँछ । यो नै नेपाललाई छोटो समयमा सम्वृद्ध र विकसित राष्ट्र निर्माण गर्ने व्यवहारिक र वस्तुवादी सामुदायिक विकास योजना हो । किनकि हाम्रो जस्तो देशमा गाउँलाई नै विकसित र सम्वृद्ध नवनाईकन राष्ट्र विकसित र सम्वृद्ध बन्न सक्दैन । त्यसैले गाउँ केन्द्रीत विकासको मोडेल नै अहिलेको तिव्र विकासको मूलबाटो हो । त्यसले गाउँको गरिबी निबारण गर्छ । बेरोजगारका समस्या समाधान गर्छ । सवैले राम्रो शिक्षा, खान लाउन र सुरक्षित तथा सुविधाजनक घरमा बस्न पाउँदछन् ।

यसप्रकारको विकासको मोडेल समृद्ध गाउँ निर्माणका लागि नयाँ सामुदायिक अभियानलाई कसरी कार्यान्वयनमा लैजान सकिन्छ ?
पहिलो त यसप्रकारको अभियानलाई केन्द्रीय सरकारले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरी राष्ट्रिय कार्यक्रमको रुपमा कार्यान्वयन ल्याउनु पर्दछ र त्यसलाई प्रदेश सरकारले परियोजनाको रुपमा गाउँबाट सुरुगर्नुपर्दछ । सुरुगर्दा गाउँहरुमा ५० देखि ६० घर मिलाएर सामुदायिक इकाईहरु स्थापना गर्ने र प्रत्येक ईकाईले सम्बन्धि सरकारको योजना अनुरुप आफ्नो ठाउँमा चल्ने र चलाउन सक्ने परियोजनाको रुपमा सामुदायिक उद्योग वा व्यवसाय स्थापना गरी संचालन ल्याउने व्यवस्था गर्नुपर्छ । तर त्यसलाई सरकारको नीति र लगानी तथा समुदायको सहभागिता, लगानी र नेतृृत्वमा स्थापना गरी संचालन गनुपर्दछ । तर कार्यान्वयनमा लैजादा अर्को महत्वपूर्ण पक्षलाई ध्यानदिन जरुरी छ । सरकारले अनुदान दिदा नगद होईन जिन्सी दिनुपर्छ । किनकि जिन्सी समान दिदा गुणस्तर हुने र अनियमितता कमी हुने गर्दछ । यसको साथै यस्ता सामुदायिक विकास परियोजनाहरु संचालन गर्दा समुदाय सँग नियमित छलफल र निर्णय प्रकृया द्धारा अगाडी बढाउनु पर्दछ । त्यसले समुदायमा उत्साहजनक एकता र संचालनको लागि हिस्सेदार हुँ भन्ने भावनाको विकास हुन्छ । यस प्रकारको मनोविज्ञानले नै सामुदायिक विकास परियोजनाहरु निरन्तर सफल हुँदै जान्छन् ।

गाउँ गाउँमा इकाई बनाएर सामुहिक उद्योग स्थापना गरी संचालन गर्ने कुरा गर्नुभयो तर उद्योग स्थापनाका लागि श्रोत साधन कहाँबाट जुटाउने त ?

सरकारले गाउँको विकास समृद्धिका लागि नयाँ सामुदायिक अभियान” अन्र्तगतको परियोजनाको नीति निर्माण गर्दा इकाईले संचालन गर्ने उद्योगमा ५० प्रतिशत ऋण, ३० प्रतिशत अनुदान र २० प्रतिशत समुदायको लगानीका आधारमा सामुदायिक उद्योग वा व्यावसाय स्थापना गरी संचालन गर्ने व्यवस्था गर्नुपर्छ । त्यसको लागि गाउँमा कुन प्रकारको व्यवसाय वा उद्योग संचालन गर्ने हो त्यसको लागि आवश्यक जनशक्ति तयार गर्न गाउँको निश्चित घर धुरी मिलाएर इकाई गठन गर्नुपर्दछ । त्यो इकाईलाई विकास योजना के हो । यसको लागि स्रोत कसरी जुटाउने, यसलाई कसरी स्थापना गर्ने र संचालनमा ल्याउने, संचालनमा ल्याएपछि कसरी सफल बनाउँदै जाने भन्ने विषयमा समुदायलाई राम्रो प्रशिक्षित गराउँनु पर्छ । यसको लागि कडा परिश्रम, सहकार्य र सदाचार नै सफलताको मुलमन्त्र हो भन्ने भावनाका विकास गराउँनु जरुरी छ । यसप्रकारको सामुदायिक विकास परियोजना असफल हुनुका मुख्य कारण माथिका तिन पक्ष हुन् ।

तपाईको यस अभियान नेपालको सन्दर्भमा व्यावहारिक छ त ?
हाम्रो जस्तो गाउ नै गाउँले भरिएको देशलाई छोटो समयमा विकसित र सम्वृद्धशाली बनाउने हो भने यो भन्दा अर्को भरपर्दो र व्यवहारिक विकासको मोडेल नै छैन । यो नै निर्विकल्प हो । फेरी हाम्रो जस्तो भौगोलिक अवस्थिती, विशेषता, एवं सामाजिक, र आर्थिक धरातल भएको मुलुकले अपनाएर आफुलाई छोटो समयमा सम्पन्न राष्ट्र बनाउन सफल भएको विकासको मोडेल हो । त्यसैले पनि नेपालको सन्दर्भमा यो विकासको मोडेल व्यवहारिक मात्र होइन अनिवार्य रहेको छ । किनकि चीन र दक्षिण कोरियाले पनि यस्तै सामुदायिक अभियानको माध्यम द्धारा तिव्र विकास भएको हुन् । त्यसैले हाम्रा जस्तो मुलुकको लागि यो अभियान आवश्यक मात्र होईन । अब बन्ने सरकारले विलम्व सुरुगर्नु पर्दछ ।
यस अभियान अन्र्तगतको परियोजनालाई समुदायले सफल पार्ने मन्त्र के के हुन् ।
पहिलो मन्त्र परिश्रम हो । यो अभियानले सामुहिक रुपको परिश्रमलाई जोडदिन्छ । यसको मुलनारा नै हुन्छ, काम गर अनि मात्र खाउ, त्यसको परिणाम स्वरुप परिश्रमले मात्र धनी बनाउँछ भन्ने समुदायमा मान्यता जगाउँछ । जसले गर्दा उत्साहजनक परिश्रम र जनसहभागिता बढाई समुदायमा ठगी खाने प्रवृतिको पूर्ण अन्त्य हुन्छ र समुदाय परिश्रमी र इमान्दार हुन्छ । दोस्रो स्वयंसेवाको भावना नै सामुदायिक विकासलाई कार्यान्वयनमा ल्याउने अर्को मन्त्र हो । जसले आफनो काम आफै गरेर स्वालम्वी बन्ने र छिमेकीलाई सहयोग गर्ने मानविय संस्कारको विकास गराउँछ । जसले समाज र राष्ट्रमा एकताको भावना बलियो बनाउने काम गर्छ । तेस्रो मन्त्र सहकार्य हो । सहकार्यले जस्तो सुकै जटिल कार्य पनि सजिलै सम्पन्न गर्न सकिन्छ भन्ने संस्कारको विकास हुन्छ । त्यसले पनि सहकार्य सामुहिक विकास कार्यको सफलताको लागि एउटा महत्वपुर्ण मन्त्रको रुपमा लिन सकिन्छ ।

यस अभियानको मुख्य लक्ष्य र उदेश्य के हो ?

स्वाधिन, समुन्नत, तथा समाजवाद उत्मुख राष्ट्रिय अर्थतन्त्रसहितको समृद्ध नयाँ नेपाल निर्माण गर्ने यस अभियानको मुख्य लक्ष्य र उदेश्य हो । किनकि देशमा संघिय शासन प्रणालीसहितको नयाँ संविधान जारी भई त्यसमा अनुसरण गरिएका आर्थिक सामाजिक सिद्धान्तको कार्यान्वयन गर्न सकिन्छ साथै यसप्रकारको विकास मोडेल लागु गरी उत्पादनशिल रोजगारी उन्मुख र न्यायपूर्ण वितरण सहितको उच्च आर्थिक वृद्धिद्धारा गरिबी न्यूनिकरण गर्दै जान सकिन्छ । चौथो नेपालमा ६ दशक लामो योजनाबद्ध विकास प्रयासबाट अपेक्षा गरिएअनुरुप उपलब्धी प्राप्त गर्न नसकिएको सन्दर्भमा यो खालको अभियानले राष्ट्रलाई विकसित र सम्वृद्धशाली बनाउन सक्दछ । किनकि हाम्रो जस्तो देशको विकास गाउँबाट सरकार र जनताको संयुक्त लगानीमा सामुदायिक परियोजना सुरु गर्नुपर्छ ।

राष्ट्रिय योजना आयोगले १४ औं योजना कार्यान्वयनमा ल्याएको छ । यसबारे तपाईको के भन्नु हुन्छ ?
राष्ट्रिय योजना आयोगले १४ औं योजनालाई कार्यान्वयनमा ल्याएको छ । तर त्यस योजनामा वास्तवमा नेपाललाई सम्वृद्धिको दिशामा लैजान सक्ने स्पष्ट विकासको मोडेल छैन । अर्को यस योजनामा समुदायलाई सहभागी गराउने योजना समेटिएको छैन । यदि समुदायको सहभागिता र नेतृत्व विना सम्पन्न विकास निर्माणका कार्यहरु दिगो तथा संरक्षण एवं सम्वद्धन हुन सक्दैन । त्यसैले विगतका योजनाहरु जस्तै यो १४ औ योजना उपलब्धिहिन हुने सुनिश्चित देखिएको छ ।

नेपालले तिव्र विकास गर्न नसक्नु कारण के के हुन् ?
पहिलो नेपालको सन्दर्भमा देशलाई तिव्र विकासमा लैजाने वास्तविक विकासको मोडेल तयार गर्न नसक्नु । दोस्रो बनेको विकासका मोडेललाई योजना सहित समयमै कार्यान्वयनमा लैजान सक्ने स्टङ्ग नेतृत्वको अभाव हुनु, तेस्रो योजना कार्यन्वयनमा लैजादा भ्रष्टाचार हुनै नदिने कडा कदम चाल्न नसक्नु । यीनै तिन मुख्य कारणले नेपाल तिव्र विकास हुन नसकेको हो ।

तपाईले अगाडी सार्नु भएको “समृद्ध गाउँ निर्माणका लागि नयाँ सामुदायिक अभियान” गाउँ–गाउँमा परियोजनाको रुपमा लैजानुपर्छ भन्नु भयो । कारण ?

वास्तवमा नेपाललाई विकसित र सम्वृद्ध बनाउने हो भने हाम्रा गाउँहरुलाई विकसित र सम्वृद्ध बनाउनुपर्छ । गाउँलाई विकसित र सम्वृद्ध बनाउन पहिलो हामीले हाम्रा गाउँहरुमा सरकारको योजना र लगानी, समुदायको लगानी, नेतृत्व र सहभागितामा सम्बन्धित गाउँमा चल्ने वा चलाउन सक्ने उद्योग वा व्यवसाय स्थापना गरी संचालनमा ल्याउनु पर्छ । त्यसको लागि गाउँ गाउँमा “समृद्ध गाउँ निर्माणका लागि नयाँ सामुदायिक अभियान” अन्र्तगतको विकास परियोजना लागु गर्नुपर्दछ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
अवको देश विकासको मूलबाटो नै गाउँ केन्द्रीत सामुदायिक विकास योजना नै हो । त्यसको लागि राष्ट्र निर्माणको अभियान, सबैभन्दा व्यवहारिक, भरपर्दो र विश्वाशिलो विकासको मोडेललाई “गाउँको विकास समृद्धिका लागि नयाँ सामुदायिक अभियान”। किनकि देशको विकास गाँउको विकास र सम्वृद्धि विना सम्भव छैन । फेरी त्यो पनि सामुदायिक परियोजना विना गरिएको विकास दिगो हुन सक्दैन । त्यसैले अव बन्ने सरकारको नीति, तथा कार्यक्रममा यस अभियानलाई परियोजनाको रुपमा समावेश गरी गाउँ–गाउँमा कार्यान्वयनमा ल्याउन अनिवार्य आवश्यकता रहेको छ ।