असार ३२, काठमाडौं : प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेपछि कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो । सोमबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरेका हुन् ।

त्यस लगतै सभामुखले सांसद मीन विश्वकर्मालाई बोल्न समय दिए । सरकारले समस्या बल्झाउने गरी चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै विरोध गरे ।

जुम्लामा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर रहेको भन्दै उनले वार्ताबाट समस्या समाधान गर्न सरकारलाई आग्रह गरे । सरकार गैरजिम्मेवार बनेको छ, सर्वसत्तावादी शैलीबाट अघि बढेको छ’ उनले भने, यस्तो स्थितिमा संसद चल्न सक्दैन ।’

लगतै कांग्रेस सांसदहरु उठेर विरोध गरे । सभामुख महराले कांग्रेसकै सांसदले विरोधको सूचना दर्ता गरेको भन्दै प्रक्रिया अघि बढ्न दिन आग्रह गरे । उनले डा. केसीको अनसनबारे सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

संसद भवन अगाडि धर्ना दिने कृष्ण पहाडीसहितका अधिकारकर्मीहरु पक्राउ 

सरकारले स्वतन्त्रता विरोध र स्वेच्छाचारी निर्णय तथा गतिविधि गरेको भन्दै मानवअधिकार तथा शान्ति समाजले संसद भवनको ३ नम्बर गेट अगाडि धर्ना दिएको थियो । तर, धर्नामा बसेका २० भन्दा धेरै अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष बटुकृष्ण ढुंगेल, केन्द्रीय सदस्य गिता तिमल्सिना, बाबुहरी आचार्य, काठमाडौं शाखा सभापति रामकृष्ण बराललगायतलाई पक्राउ गरेको हो । उनीहरुलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेको छ ।

धर्नामा सहभागीले सत्याग्रहीको जीवन रक्षा गर, स्वतन्त्रता विरोधी निर्णय खारेज गर, स्वेच्छाचारी गतिविधि बन्द गर, शिक्षामा माफिया चलखेल अन्त्य गर, स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर, अपराधिलाई संरक्षण बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरियका थिए ।

सरकारले आधारभूत स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुने गरी निर्णय गरेको भन्दै त्यसको विरोधमा मानव अधिकार तथा शान्ति समाजले यसअघि प्रधानमन्त्री कार्यालय सिंहदरबार, प्रधानमन्त्री निवास वालुवाटार अगाडि पनि प्रदर्शन गरिसकेको छ ।