चिरकालिज नेपालबाट लोप हुने अवस्थामा

असार ३२, धुर्वसागर शर्मा / बेनी : दुर्लभ मानिने चिरकालिज उचित वातावरणको अभावका कारण नेपालबाट लोप हुने अवस्थामा पुगेको छ । त्रिभुवन विश्वविद्यालयमा एमएससी (प्राणीशास्त्र) विभागमा अध्ययनरत केशव चोखालले एकवर्ष लगाएर जिल्लाका विभिन्न ठाउँमा पुगेर गर्नुभएको अनुसन्धानबाट यहाँ करिव ६० वटा चिरकालिज पाइएको हो ।

नेपाल प्रकृति संरक्षण कोष, साना स्तनधारी संरक्षण तथा अनुसन्धान संस्थान लगायतका संस्थाको सहयोगमा उनले लामो समय लगाएर चिरकालिजको अवस्था, वासस्थान, संख्या र लोप हुनाको कारणबारे अनुसन्धान गरेका थिए । ‘क्याट्रस वालिचि’ वैज्ञानिक नाम रहेको यस पक्षीलाई अंग्रेजीमा चिरफेजेन, नेपालीमा चिरकालिज र सुदूरपश्चिमा चेडु चराको नामले चिनिन्छ ।

साइटिस घोषणापत्र र आइयुसियन अन्तर्राष्ट्रिय संस्थाको ‘आइ’ सूचीमा राखिएको यो पक्षी नेपाल वन्यजन्तु संरक्षण ऐनमा संरक्षित पक्षीको सूचीमा सूचीकृत छ । नेपालमा यो पक्षी समुद्री सतहबाट एक हजार ४०० मिटरदेखि ३६ सय मिटरसम्मको भू–भागमा पाइने अनुसन्धानकर्ता चोखालले बताए । नेपालमा करिब एक हजारको संख्यामा रहेको यो पक्षी म्याग्दीमा मात्रै ५० देखि ६० वटासम्म भएको अनुमान गरिएको छ ।

नेपाल, भारत र पाकिस्तानमा मात्रै पाइने यो चरा झट्ट हेर्दा कालिजको पोथी जस्तै देखिए पनि कालिज र चिरकालिजमा धेरै भिन्नता रहेको उनको भनाइ थियो । यो कालिजको भालेको पुच्छर लामो, आँखाको रङ रातो, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ । यसले विशेषगरी चैतदेखि जेठसम्म मात्रै फुल पार्ने र बच्चा कोरल्ने गरेको अनुसन्धानकर्ता चोखालले बताए ।

बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुई पटक मात्र चिरचिर गरेर कराउने चिरकालिजको मुख्य विशेषता हो ।उहाँका अनुसार यो पक्षी मुख्यगरी मध्यपहाडको माथिल्लो भेगका जंगल नभएको खुल्ला भिर, खरबारी र अलिअलि झाडी भएको ठाउँमा पाइने गर्छ ।

भिरमा नै बासस्थान बनाउने यो पक्षीले एक पटकमा सात देखि १५ वटासम्म फुल पार्ने गर्दछ । चिरकालिज अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन शिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर म्याग्दी, बागलुङ र मध्य तथा सुदूरपश्चिम क्षेत्रमा पाइने अनुसन्धानबाट खुल्न आएको छ । म्याग्दी जिल्लामा यो पक्षी कालीगण्डकी, म्याग्दी नदी र रघुगंगाको तटीय क्षेत्रमा पनि पाइएको अनुसन्धानकर्ता चोखालले बताए ।

अवैध चोरी शिकारी, आगोलागी, वासस्थानको ह्रास र जनचेतनाको अभावका कारण यो पक्षी लोपोन्मुख अवस्थामा पुगेको छ भन्दै उनले समुदायबीच सचेतना कार्यक्रम, चोरी शिकारी नियन्त्रण, वासस्थानको संरक्षण तथा वासस्थानबीचको बाटो निर्माणका साथै थप अनुसन्धान गर्ने हो भने यो पक्षीको संरक्षण गर्न सहज हुने बताए । उनका अनुसार पर्यापर्यटनको विकास जैविक विविधताको संरक्षण र लोपोन्मुख आनुवांशिक जन्तुको संरक्षणका लागि पनि चिरकालिजको संरक्षण गर्नु आवश्यक छ ।रासस