असार ३२, काठमाडौं : कुनै जमानामा सडकका भित्ताभित्तामा फिल्म प्रमोसनका लागि पोस्टर टाँसिन्थ्यो। फिल्मको नाम र कलाकारको अनुहार हेरेरै दर्शक हलसम्म पुग्थे। पोस्टर र होर्डिङ बोर्डले नै ती फिल्महरू महिनौंसम्म चल्थे पनि। तर, अहिले परिस्थिति त्यस्तो छैन। फिल्म प्रमोसनका लागि कलाकारहरू ठाउँठाउँ जानु त पर्छ नै। त्यो सँगसँगै समयअनुसार सामाजिक सञ्जाल पनि प्रमोसनको गतिलो माध्यम भएको छ। दर्शकलाई फिल्म हलसम्म तान्न लगातार सामाजिक सञ्जालमा गरिएको प्रमोसन फाइदाजनक नै बनेको छ।

फिल्म प्रमोसनमा फेसबुक नेपाली कलाकारका लागि सबैभन्दा सजिलो माध्यम बन्दै गएको छ। फिल्म प्रमोसनमा नायिकाहरू सबैभन्दा अगाडि छन्। सोसल एभ्सका अनुसार सन् २०१७ को पहिलो त्रैमासको तथ्यांकमा ८० लाख नेपाली फेसबुक प्रयोगकर्ता छन्। तिनमा नेपाली सेलिब्रेटीमध्ये रेखा थापाको फ्यान फलोइङ सबैभन्दा बढी छ। फेसबुकमा ३१ लाखभन्दा बढी फ्यान फलोइङ रहेकी रेखा थापा फेसबुकबाटै आफ्नो फिल्मको प्रमोसन गर्छिन्।

पछिल्लो समय उनको अफिसियल फेसबुक पेजमा छायांकनमा रहेको नयाँ फिल्म ‘मालिका’को प्रमोसन देख्न सकिन्छ। रेखा निर्देशित दोस्रो फिल्म मालिकामा उनले जाजरकोटकी नन–एक्टर कमला ओलीलाई मुख्य भूमिकामा प्रस्तुत गरेकी छन्। फिल्मको छायांकनदेखि प्याकप सम्मका गतिविधि रेखाले फेसबुकमार्फत नै आफ्ना फ्यानहरूसम्म सजिलै पुर्‍याएकी छन्। उनको एक पोस्टमा ३० हजारभन्दा बढीको लाइक्स आउने गरेको छ।

आठ लाख ७० हजारभन्दा बढी फ्यान फलोइङ रहेकी केकी अधिकारी पनि फेसबुकबाटै फिल्म प्रमोसन गर्छिन्। उनको फेसबुक पनि फिल्म प्रमोसनले भरिभराउ छ। पछिल्लो चलचित्र कोहलपुर एक्सप्रेसको प्रमोसन उनले फेसबुकबाटै गरिन्। हाल विदेशका विभिन्न ठाउँमा यसको प्रदर्शन भइरहेको जानकारी पनि केकीले फेसबुकबाटै गरिरहेकी छन्। २१ लाखभन्दा बढी फलोअर्स रहेकी प्रियंका कार्कीले पनि फेसबुकलाई प्रमोसनको मुख्य थलो बनाएकी छन्।

त्यसैगरी नायिका साम्राज्ञी राज्यलक्ष्मी पनि फिल्म ‘कायरा’ र ‘इन्टुमिन्टु’को प्रमोसनमा लागेकी छन्। नायिका वर्षा सिवाकोटी पनि आफ्नो पछिल्लो फिल्म ‘जय शम्भु’को प्रमोसन फेसबुकबाटै गरिरहेकी छन्। नम्रता श्रेष्ठको फेसबुक पेजमा पनि उनको अर्को फिल्म ‘जाइरा’को प्रमोसन भेट्न सकिन्छ।

प्रदर्शनीमा आउन लागेका फिल्मको गीतसंगीत, पोस्टर, रिलिज डेट र फिल्मको फस्र्ट लुक सार्वजनिक गर्न यी नायिकाहरू फेसबुकमा जमेरै लागेका छन्। नेपालीहरूले प्रयोग गर्ने सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, युट्युब, इन्स्टाग्राम) मध्ये फेसबुक ९० प्रतिशतभन्दा बढीको पहुँचमा भएकाले पनि नायिकाहरूले फिल्म प्रमोसनको माध्यम फेसबुकलाई बनाएका हुन्। त्यसमाथि पनि एन्ड्रोइड मोबाइल प्रयोगकर्ता बढेसँगै ९४ प्रतिशतले मोबाइलबाटै इन्टरनेट चलाउने गरेका छन्। यसले कलाकारहरूको फिल्मको प्रमोसनलाई अझै सहज बनाएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा एक करोड ६० लाख मोबाइल प्रयोगकर्ता हाल इन्टरनेटसँग जोडिएका छन्।