असार ३१, काठमाडौं : नयाँ पत्रिका दैनिकले नेपाली कांग्रेसका नेताले कम्युनिष्ट कार्यकर्तालाई प्रशिक्षण दिएको कुरालाई प्राथमिकताका साथ समाचार छापेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा मसालका नेता-कार्यकर्तालाई नेपाली कांग्रेसका नेता प्रदीप गिरीले मार्क्सवादबारे प्रशिक्षण दिएको समाचारमा उल्लेख छ ।

गिरीले गत वैशाख १५ गते नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा कम्युनिष्ट कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको समाचार छ ।

कम्युनिष्ट कार्यकर्ताहरुलाई मार्क्सवाद पढाउने अभियान १५ वैशाखबाट झापाबाट सुरु भएको र अभियानको क्रममा कांग्रेस नेता गिरीले धुलिखेलमा पनि प्रशिक्षण दिएका थिए । मार्क्सवाद पढाउने अन्य गुरुहरुमा नेकपा मसालका महासचिव मोहनविक्रम सिंह, नेकपाका नेता राम कार्की, चैतन्य मिश्र, पीताम्बर शर्मा लगायत छन् ।

कम्युनिष्टको प्रशिक्षणमा कांग्रेस नेताको प्रवेशले सुरुमा कार्यकर्ताहरु आश्चर्यमा परे पनि प्रशिक्षण सुन्दै गएपछि कम्युनिष्ट कार्यकर्ताहरु प्रभावित हुने गरेको नेकपा मसालका नेता समीर सिंहले बताएका छन् ।