कबिता : समृद्ध नेपाल, सुखि नेपालीको सपना

कवि : नारयण सापकोटा

मेरो आदेश पालना नगर्ने
विश्व सम्मेलनमा जान्छु भन्दै
विदेश भाँसिन खोज्ने
त्यो खरो प्राध्यापकलाई
अब देखि कहिल्यै नल्याउनु बालुवाटार
न दिनु एक कप चिया पनि
बरु सिधै पठाई दिनु जेल ।

पटक पटक घुर्की लगाउँदै
अनसन बस्ने बुढो डाक्टर
जुम्ला पुगेर पनि लम्पसार परेको समाचार सुन्दैछु
मेरो निद हराम गर्ने त्यो डाक्टरलाई
यस पटक जसरी भए पनि आर्यघाट पठाउनु ।

लामो समयसम्म
वीर हस्पिटलको आईसियुमा लडीरहेकी
त्यो बुढी गंगामायालाई
फकाई फुल्याई नन्दप्रसादसँग भेट्न
टिचिङ हस्पिटल तिरै पठाउनु ।

लोकतन्त्रको मूल्य खोज्दै
केही फेसबुकेहरु
फेसबुकका भित्ताभरि
आगो ओकलीरहेका छन्
यिनीहरुले सखाप परिदिने भए
देशका सपनाहरु
त्यसैले
ठेगान लगाउन छिट्टै इन्टरनेट काटिदिनु ।

अधिनायकवाद आउँछ भन्दै
दुई चार जाना सडकमा उफ्रिरहेका छन
दुई चार जाना सदनमा चिच्याइरहेका छन
यिनीहरुलाई के थाहा ?
म पनि लोकतन्त्रकै भञ्याङबाट यहाँसम्म आईपुगेको हुँ
मसँग पैठा जोरी खेल्न खोज्नेहरु
देशद्रोही हुन्
देशको स्वभिमान र लोकतन्त्रको रक्षा लागि
अब सेन्टर जेल खाँली गर्नु ढिलो नगर्नु ।

हावाबाट बिजुली निकाल्छु भन्दा
घर घरमा ग्याँसको पाइपलाइन जोड्छु भन्दा
एक वर्षमा तुइन हटाउछु भन्दा
पाँच वर्षमा रेल र पानीजहाँज कुदाउँछु भन्दा
विश्वास नगर्नेहरु
विकास विरोधी हुन्
विकास विरोधीहरुलाई
यो देशबाट निकाला गरिदिनु ।
मैले समृद्ध नेपाल, सुखि नेपालीको सपना पुरा गर्नु छ ।

तपाईको प्रतिकृयाको लागी…………..