असार २७, नेपालजगञ्ज : श्चिम तराईका थारु समुदायमा मात्र जनस्वास्थ्य समस्याको रुपमा देखा परेको सिकलसेल एनिमियाँ रोकथामको लागि बच्चा जन्मिने वित्तिकै सिकलसेल जाँच गराउनु पर्ने चिकित्सकले सुझाव दिएका छन् ।
भेरी अञ्चल अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले सिकलसेलको निराकरणका लागि समुदायमा सचेतनासंगै रोकथामको लागि विभिन्न उपाय मध्ये नयाँ जन्मने बच्चालाई सिकलसेल एनिमिया÷थालसेमिया भए नभएको जाँच गराउनु पर्ने बताए ।
डा. पाण्डेले सिकलसेल एनिमिया बच्चा जन्मदै आमाबाबुबाट बच्चामा आउने भएकोले त्यस्ता बच्चालाई उपचारको लागि सिकलसेल जाँच भएको खण्डमा चिकित्सकलाई सहज हुने बताए ।

‘सामान्य तथा सिकलसेलको विरामी बच्चाहरुमा निमोनिया, जन्डिस, शरिरको जोर्नी दुख्ने जस्ता लक्षण देखिने गरेको र त्यो उपचारको लागि आउने बच्चालाई सिकलसेल जाँच गरेको अवस्थामा चिकित्सकलाई उपचार गर्न सजिलो हुने नभए, चिकित्सकलाई उपचारमा समस्या हुनसक्ने भएकोले समुदायमा बच्चा जन्मने वित्तिकै सिकलसेल जाँच गराउनु आवश्यक छ’–उनले भने ।

उनले अमेरिका, बेलायत जस्ता विकसित देशमा बच्चा जमिन्नासाथ सिकलसेल र थालसिमियाको जाँच हुने गरेको बताउँदै नेपालमा पनि जाँच गर्ने नीति ल्याउनु पर्ने बताए । जन्मिनासाथ जाँच भए रोगको पहिचान हुने र उपचारमा सहज भई जोखिम कम हुने उनको भनाई छ ।
उनले सानैमा रोगको पहिचान हुन नसक्दा धेरैले दुख पाएको बताए । रोग र समस्याको बारेमा पहिचान नभएकै कारण एउटा रोगको उपचार गर्नुपर्ने ठाउँमा अर्को रोगको उपचार हुने गरेको बताए । उनले आफु कार्यरत भेरी अञ्चल अस्पतालमा उपचारको लागि आएका सिकलसेलका विरामीको भोगाई सम्झदै भने–‘पेट दुखेर एपेन्डिक्स भयो भनेर अपरेशनको लागि तयार भएको विरामी सिकलसेल जाँच गर्दा सिकलसेलका कारण दुखेको पाईयो, विरामीलाई एपिन्डिस भएको भन्दै झन्डैले अपे्रशन भएन । यस्ता खाले केश धेरै भएका छन् ।’ उनले एपिन्डिसको शल्यक्रियाका लागि तयार भएको विरामीको जाँच गर्दा सिकलसेल फेला परेको र उपचार पछि निको भएर घर गएको बताए ।

भेरी अञ्चल अस्पतालमा दैनिक ५÷७ जना सिकलसेलका विरामी आउने गरेको जनाएको छ । पछिल्लो समयमा २०७४ भदौदेखि जेठको अन्तिमसम्ममा ओपिडीबाट १ हजार ७३ जना सिकलसेलका विरामीले सेवा लिएका छन् ।
अस्पतालले सामाजिक सुरक्षा ईकाई मार्फत सेवा दिन सुरु गरेको २०७२ भदौदेखि ७५ जेठको अन्तिमसम्ममा ५ सय ५४ जना विरामीले अस्पतालबाट ३५ लाख ६५ हजार ८ सय ७ रुपैयाँ बराबरको उपचार सेवा लिएको अस्पतालको सामाजिक सुरक्षा ईकाईले जनाएको छ ।

यसैबीच भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाशबहादुर थापाले राज्यले सिकलसेल भए नभएको जाँचको लागि आवश्यक पर्ने रिएजेन्ट (केमिकल) उपलब्ध गराईदिए अस्पतालले निशुल्क रुपमा सिकलसेलको जाँच गर्न सक्ने बताए । उनले सिकलसेल जाँचको साथै उपचारको लागि अस्पताललाई अध्ययन केन्द्र बनाउने गरी अगाडि बढेको जानकारी दिए ।