बसन्त लिम्बू/असार २०, ताप्लेजुङ : पूर्वको गोसाइकुण्डको नामले परिचित ताप्लेजुङ र पाँचथरको बीचमा रहेको तिम्बुङ पोखरी प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । असारदेखि असोज महिनासम्म घुम्नका लागि राम्रो समय भएपनि प्रचार–प्रसारकै अभावमा त्यहाँ घुम्न जाने पर्यटक तथा तीर्थयात्रीको सङ्ख्या अत्यन्तै नगन्य रहेको छ ।

धार्मिक, जैविक र प्राकृतिक सौन्दर्यमा रमाउन चाहने जो कोहीको मन यसको सुन्दरताले छुन्छ । समुन्द्र सतहदेखि चार हजार चार सय मिटर उचाइमा रहेको यो पाखरीको दर्शन गर्न भने कुहिरो र घामको लुकामारी छिचोल्नै पर्ने हुन्छ ।

तिम्बुङपोखरीको नामाकरण स्थानीय लिम्बू भाषाका आधारमा गरिएको हो । पशुपालन गर्ने क्रममा गर्मी समयमा गोठलाई हिमालतिर लैजाने र चिसो बढ्ने बित्तिकै बेँसी झार्ने चलन छ । सोही चलनअनुसार स्थानीयले आफ्नो गोठलाई पोखरी छेउछाउ पु¥याउँदा पोखरी छेउबाट ड्वाङ–ड्वाङ आवाज निस्के पछि उनिहरूले आफ्नो भाषा अनुसार पोखरीको नाम नै तिम्बुङ पोखरी राखेको स्थानीयको भनाइ छ । लिम्बू भाषामा तिम्बुकुको अर्थ बन्दुकु र बुङको अर्थ पड्कनुु हुन्छ ।

धेरै वर्ष पहिला एक माहात्मा तीर्थ यात्राको क्रममा आफ्ना सहयोगीसहित तिम्बुङ पोखरी छेउछाउ आइपुगेको र हिमालको बाटो हिँडेका कारण महात्मालाई प्यास लाग्दा कतै पनि पानी नभेटेको र अन्तमा आफूसँग भएको त्रिशुलले पहाडलाई खोपी पानी निकालेर प्यास मेटेको त्यही पानी निकालेको ठाउँमा नै पोखरी बनेको समेत किम्वदन्ती छ ।

करिब ४ सय मिटर लम्बाई र २ सय मिटर चौडाई भएको पोखरीको हालसम्म गहिराइ नाप्न नसकिएको स्थानीय बताउँछन् । तिम्बुङ पोखरी वरपर अन्य थुप्रै पोखरीहरू छन् । शिव पोखरी, सूर्य कुण्ड, हाँस पोखरी, मयुर पोखरी, नीलपोखरीलगायत १८ वटा पोखरी छन् । कुम्भकर्ण हिमालको वरिपरि १ सय ७८ वटा कुण्डहरू माला जस्तै रहेका छन्, त्यसैले तिम्बुङ पोखरी क्षेत्रलाई पूर्वको गोसाइकुण्डको उपनाम समेत दिइएको छ । सच्चा मनले पोखरी गएर दर्शन गरे, पूजा आरधना गरे मनोकांक्षा पूरा गरिदिने जनविश्वास रहेको छ ।

दुई दिन पैदल हिँडेरै जानुपर्ने यस स्थानमा साउनदेखि असोज पहिलो सातासम्म पुग्न सकिन्छ । असोजदेखि नै यहाँ हिमपात सुरु हुन्छ । ठूल्ठूला नागी, खोला र झर्ना तथा बाक्लै पोखरीले सजिएको तिम्बुङ क्षेत्रमा माइकोपिला, कुटी, विखुमा, पाँचऔँले, खोकिमजस्ता अनेकन फूल र जडिबुटी रहेका छन् । तर, पर्याप्त भने छैन । सरकारी स्तरबाट पूर्वाधार विकास गर्न सके थुप्रै स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन सकिने स्थानीयको विश्वास छ ।

तिम्बुङ पोखरी जाने मौसम शुरु

पर्यटकीयस्थल तिम्बुङ पोखरी जाने मौसम शुरु भएको छ । पाँचथरको याङवरक गाउँपालिका र ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सङ्गममा रहेको तिम्बुङ यात्राको सिजन असारको शुरुदेखि आरम्भ भएर साउन महिनाभरि चल्छ ।

भदौ लागेपछि भने जाडो बढ्न थाल्छ । चौँरी गोठाला चौँरी लिएर बेँसीतिर झर्छन् । त्यसैले साउनपछि तिम्बुङ यात्रा सम्भव छैन । मनसुनी मौसममा पर्यटक र तीर्थयात्रीको भीड लाग्ने तिम्बुङ दृश्यावलोकन र तीर्थयात्राका लागि अब्बल गन्तव्य मानिन्छ । तिम्बुङ क्षेत्रमा यो सिजनभरि धार्मिक एवं जैविक–प्राकृतिक सौन्दर्यसँग रमाउने पर्यटकको लर्को लाग्छ ।