असार १८,सल्यान :  दशक अघिसम्म जताततै देखिने गिद्ध लोप हुँदै गएपछि स्थानीयको सक्रियतामा संरक्षण अभियान थालिएको छ । पर्यावरण संरक्षण गर्न अभियान थालिएको हो । विगतमा सबै ठाउँमा प्रसस्त पाइने गिद्ध अहिले सल्यानमा एक सय ४२ मात्र रहेको गिद्धसम्बन्धी अध्ययनमा संलग्न सुमन घिमिरेले बताए । उनका अनुुसार जिल्लामा १४ सुन गिद्ध, १२ सेतो गिद्ध, ६६ हिमाली गिद्ध र १६ हाडफोर गिद्ध छन् ।

बाँमे, मोख्ला, काल्चे, झिम्पे, लुहाम, काभ्रा, लेखपोखरा, दमाचौरलगायतका ठाउँमा मौसम अनुसार गिद्ध पाइन्छन् । ‘पशुमा लगाउने डाइक्लोफेनिक औषधिका कारण गिद्ध लोप हुने अवस्थामा पुगेका हुन्,’ उनले भने, ‘खाना र बासस्थानको अभावका कारण गिद्धको संख्या घट्दै गएको हो ।’ स्थानीयवासीको सक्रियतामा पास नेपाल गैरसरकारी संस्थाले गिद्ध संरक्षण अभियान थालेको हो ।

संरक्षणका लागि बालबालिकालाई पनि सहभागी गराइने संस्थाले जनाएको छ । प्रकृतिको कुचीकारको रूपमा चिनिने गिद्ध संरक्षण गर्नसके हैजा, रेबिज, आउँजस्ता रोगबाट बच्न सकिने संरक्षणकर्मी घिमिरेले जनाए । ‘गिद्ध संरक्षणका लागि बस्तीभन्दा एक किलोमिटर टाढाको जंगलमा गाईबस्तु मारेको सिनो फाल्न आवश्यक छ,’ घिमिरेले भने, ‘वनमा जथाभावी लगाउने डढेलोका कारण पनि गिद्धको संख्या घट्दै गएको छ ।’ जथाभावी सडक निर्माण र वन फँडानीका कारणले समेत गिद्धको संख्या घटेको पास नेपालले जनाएको छ । अभियानका क्रममा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

विश्वमा २३ प्रजातिमध्ये नेपालमा ९ प्रकारका र सल्यानमा चार प्रकारका पाइन्छन् । अध्ययनका क्रममा सबैभन्दा बढी भेटिएका हिमाली गिद्ध आयातित भएको संस्थाले जनाएको छ । गिद्धको अध्ययनका क्रममा वन्यजन्तु र पन्छीको तस्करी बढिरहेको देखिएको छ ।

पास नेपालका अध्यक्ष ज्ञानेश्वर केसीले गिद्ध संरक्षण केन्द्र स्थापनाको तयारी गरेको बताए । उनका अनुसार पछिल्लो समय मलसाप्रो, पानीओत जस्ता वन्यजन्तु पनि लोप हुँदै गएका छन् ।