कविता चोरेको आरोपसहित लेखेको सन्दर्भमा मेरो ध्यान आकृष्ट : विवश पोखरेल

मेरो “बग्दै बग्दै जाने छोरासँग ” शीर्षकको कवितामाथि मेरो प्रतिष्ठा र चरित्रमा समेत आँच आउने गरी नयाँ पत्रिकामा प्रोल्लास सिन्धुलीयले उक्त कविता टीका आत्रेयको चोरेको आरोपसहित लेखेको सन्दर्भमा मेरो ध्यान आकृष्ट भएको छ ।
गत साल आएको बाढीमा जलमग्न भएका कारण आफ्नो मरेको छोरो गाड्ने जग्गा नभएर बाढीमा बगाइदिएको कारुणिक घटनाले धेरैलाई स्तब्ध बनायो । त्यो फोटो कान्तिपुरमा छापियो । त्यसपछि यो घट्नामा धेरै कविले कविता लेखे । सोही बेला म पनि त्यो पीडाले आहत भएँ र यो कविता जन्मियो । १७ भाद्रमा यो कविता कान्तिपुर दैनिकमा प्रकाशित भयो । कविता एकाएक भाइरल भयो । पचास हजार भन्दा बढी प्रियजनहरूले यो कविता like , comment , share गर्नु भयो । यसैबिचमा टीका आत्रेयले यो घटनामा लेखिएको कविता साहित्यिक यात्रामा धनकुटा जाँदा गाडीमा सुनाएको आफ्नो जेठो कविता भएको, मेरो कविता जत्तिकै पूर्ण रहेको, पुड्को नभएको भनेर दाबी गर्दै मेरो कविता प्रकाशन भएको केही दिनपछि फेसबुकमा राखिन् । त्यसको कमेन्टमा धेरै पाठकले एउटा विषयमा धेरै कविले कविता लेख्न् सक्छन् ।त्यो मध्ये जस्को राम्रो कविता हुन्छ त्यही उत्कृष्ट भन्ने विचार समेत राखे । यो मेरो कविता भाइरल भएपछि यही नयाँ पत्रिकाबाट प्रकाशित हुने गज्जब साप्ताहिकमा मेरो रचना गर्भ सहित कविता समेत छापिएको छ भने धेरै पत्रिकाले यस कविता साभार गरेर छापे । जुन कविता मैले महाकालीदेखि मेचीसम्म पचासौं पटक यो कविता वाचन गरेको छु । आज प्रकाशन भएको १० महिना पछि हिजो मरिन् सासू आज आयो आँसु भने झै म माथि मिथ्या र आधारहीन आरोप लाएर मेरो चालीस वर्षको साहित्यिक निष्ठा , त्याग समर्पणमाथि गरेको यो अतिशय आक्रमणले दुखी छु । मेरो र टीका आत्रेय दुबैको कविता यहाँहरुको इजलासमा राखेको छु । कवितामाथि यहाँको विचार आमन्त्रण गर्छु । यी कविताका शब्द,भाव, बिम्ब, प्रतीक शिल्प शैली, प्रस्तुति , विचार एकै छन् त ? कविता साथै छ । यहाँहरूको निष्पक्ष विचारको अपेक्षा राखेको छु ।

कविता -१

-विवश पोखरेल

बग्दै बग्दै जाने छोरासँग
ढुङ्गो बनाएर एउटी आमाको मुटु
पानीमा बगाइदिएकी छु
मेरो खुसी / मेरो प्राण / मेरो सपना
जानू, बग्दै बग्दै जानू
जहाँ माटो भेटिन्छ, त्यहीँ टक्क अडिनू
र समाधिस्थ हुनू
.
जीवनभरि माटोसँगै खेले पनि, माटोमै हुर्किए पनि
हामीसँग आफ्नो भन्ने
माटो नै कहाँ थियो र तँलाई गाड्नू ?
तैंले नाङ्गैभुतुङ्गै खेल्ने ऐलानी आँगन
सरकारको थियो
तेरो बाबुले बर्खामा जोतेर
हिउँदमा धानको सिला खोज्ने गरेको खेत
मालिकको थियो
हामीसँग माटो त त्यति मात्र थियो
जुन श्रमको पसिनासँगै
हाम्रा आङमा टाँस्सिएर आएका थिए
आज बाढी बनेर आएको आँसुका भेलमा
ती माटोलाई पनि खलल्ल पखालेर
अचानोमा राखेर आफ्नो मटु तँलाई बिदा गर्दैछु
जानू खुसीले जानू
जहाँ माटो भेटिन्छ त्यहीँ टक्क अडिनू
र समाधिस्थ हुनू ।
अनियन्त्रित छाल भएर आइरहेछन्
ता जन्मनुअघि र पछिका सम्झनाहरु
ता जन्मिएको दिन नेपाल बन्द थियो
अस्पताल बन्द थियो
हड्तालमा थिए डाक्टरहरु
एक हप्तादेखि काम नपाएर
सुत्केरी उकास्न नसक्नुको पीडामा
झोक्राइरहेको तेरो बाबु
थचक्क घर छेउको खेतको आलीमा बसेर
क्वाँक्वाँ रोइरहेको थियो
र भगवान् भनाउादो ढुङ्गोसँग
तेरो सुखद आगमन र मेरो सुस्वास्थ्यको
प्रार्थना गरिरहेको थियो
घाम र पानी दुवैले पोल्ने र रूझाउने
घर नामको एउटा सानो टहरोमा ता जन्मिएको थिइस्
त्यहीं मालिकको घरको
उब्रिएको जुठो र बासी भात खाएर
उक्सिएकी थिएँ म सुत्केरी
सुत्केरी भएको दिन मात्र एक दिन चिसो कुनामा
एक मुठी सन्ठी र एक मुठा पराल बालेर
सेकाएकी थिएँ आफ्नो चिसिएको आङ
तातो पानीलाई तेल बनाएर दल्दै
तङ्ग्राएकी थिएँ आफ्नो शरीर
तँलाई जीवनको गहिरो नदीमा
डुबुल्की मार्न सिकाउँदा सिकाउँदै
तैरिन सिकाउँदा सिकाउँदै
आफ्ना इन्द्रेनी सपना डुबाएर स्तब्ध छु
खुसी डुबाएर स्तब्ध छु
ता यो देशमा दु:खै पाउन त आएको थिइस्
दु:खै पाएर गइस्
जानू….., तैंले पानीमा खेलेका कागजका नाउजस्तै
कतै नडुबी बग्दै बग्दै जानू
अदृश्य बग्ने बतास र समयजस्तै सुस्तरी बग्दैबग्दै जानू
तालाई बेरेर बगाउन पनि मसँग
यो लाएको झुत्रो साडीबाहेक केही थिएन
जुन साडीको रङ
कुनै राजनैतिक दलको झन्डासँग मिल्दैन
हाम्रा पसिना, आासु र जीवनसँग मिल्दैन
तथाकथित समानता, आरक्षण र स्वतन्त्रतासँग मिल्दैन
त्यही साडीलाई च्यातेर
तेरो अगाध मायालाई टपक्क निकालेर मुटुबाट
यो धमिलो पानीमा बगाइदिएकी छु
मेरो खुसी / मेरो प्राण / मेरो सपना
जानू, बग्दै बग्दै जानू
जहाा माटो भेटिन्छ त्यहीँ टक्क अडिनू
र समाधिस्थ हुनू ।

प्रकाशित : भाद्र १७

कविता -२

-टीका आत्रेय

अाँसुकाे काेशीमा जीवनकाेअन्त्येष्टि
टीका अात्रेय, इटहरी
मेराे अाँखाकाे बाढीले
याे बस्ती सिनित्तै बगाउँदा
बगाउँला मेराे प्राण पनि
उहीँ बाढीले।
तिमीलाई पुर्ने जमिन नभेटिए झै
नभेटिएला जमिन मेराे लागि पनि
र बगाउलान् कसैले मेराे लास
मेरै अाँसुकाे काेशीमा
अनि बग्दै चाँडै अाउँला
तिमीलाई भेट्न तिम्राे यात्रामा।
छाेरा,
याे छातीमा जमेकाे
अमृत धारा दूध
यसरी पग्लिएर बगिरहँदा
तिम्राे एक्लाे यात्रामा
भाेकाएकाे म कसरी साेचूँ?
मेराे एक्लाे काख रित्ताे राेइरहँदा
तिमीले निदाउँने
बाढीकाे बेग कसरी सम्झूँ?
अाँखामा अविच्छिन्न अाइरहने
काेशीमा तैरिएकाे त्यही तिमी
चिम्लेर कसरी तिमीलाई छाेपूँ?
प्याराे छाेरा,
याे रित्ताे काख लिएर
म कुन् लाेरी गुन्गुनाऊँ?
यी स्तनबाट बगेकाे अमृत
म कसलाई पिलाऊँ
र तृप्त बनाऊँ?
काे भाेकले राेएकाे सुनूँ
र चुल्हाे सल्काऊँ?
काे निदाएकाे कल्पूँ
र काेक्राे हल्लाऊँ?
जून हेरेर कथा कसलाई सुनाऊँ?
जूनकिरी टिपेर कसलाई देखाऊँ?
तिमीलाई मनपर्ने माटाेका डल्ला
तिमीले खेल्ने साना
तिमीजस्तै ढुङ्गाका गट्टा
समाउँन खाेजेका पुतलीका पखेटा
पठाउँन भुलेर छाेडिएछन् यतै
कसलाई पठाऊँ तिमीले खेलेका
तमाम तिम्रा प्रिय वस्तुहरु?

छाेरा, बिस्तारै बग्नू
म लिएर अाउँला छुटेका चिजहरु
अविरल अाँसुकाे बाँध भत्काउँदै
बग्दै बग्दै म पनि
र भेटूँला तिमीलाई
याे बाढीकाे बाटाेमा
मलाई पर्खिदै बग्नू है!

तपाईको प्रतिकृयाको लागी…………….