‘गुमेको सामाजिक प्रतिष्ठाको सोधभर्ना कहाँ र कसरी पाउँछु म’ :चुडामणी शर्मा

म चुडामणी शर्मा । आन्तरिक राजस्व विभागको तत्कालीन महानिर्देशक । विद्यमान कानूनबमोजिम नेपाल सरकारको निलम्बित सहसचिवको रुपमा अदालतमा आफूमाथि लागेको आरोपको प्रतिरक्षा गरिरहेको छु । नेपाल सरकारको सचिवका रुपमा देश र जनताको पक्षमा निरन्तर तल्लीन हुनपर्ने म आज आफु उपर लगाइएको भ्रष्टाचार सम्बन्धि झुटा मुद्धा खेपीरहेको छु र न्यायको याचना गरिरहेको छु ।

चुडामणी शर्मा

मेरो कार्यक्षमता र दक्षताका आधारमा जुन दिन मलाई सरकारले सचिवमा बढुवा गर्दै थियो, म सचिवमा बढुवा भएको औपचारिक पत्र लिने तयारी गरिरहेको थिएँ तर नियतिको प्लट अर्कै तयार भइरहेको रहेछ । म विरुद्ध तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दिप बस्न्यात र उनको समूहको षड्यन्त्र तयार भइसकेको रहेछ । बस्न्यात र उनको समूहको नियोजित षडयन्त्रको सिकार भएपछि आज राष्ट्रसेवामा लगाउनु पर्ने मेरो समय न्यायको याचनामा खर्चिरहेको छु । मलाई लाग्छ, राज्यले सुम्पिएको जिम्मेवारी मैले पूर्ण कानूनको पालना गरि सफल रुपमा निरुपण गरेको छु । ममाथि कैयन काल्पनिक प्लटहरु तयार गरि मेरो सामाजिक प्रतिष्ठामाथि जुन हमला गरिएको छ त्यसको सोधभर्ना मैले पाउँछु कि पाउँदिन, मलाई आज दुविधा छ ।

यहि दुविधाले मलाई बारम्बार लखेटिरहन्छ र भनिरहन्छ, तिमिले पनि आफ्नो बलबुताले भ्याएसम्म आफूमाथि लगाइएका जघन्य आरोपका पुलिन्दाहरुलाई धुजाधुजा पार्नुपर्छ । आम जनतासमक्ष आफ्ना वास्तविक कुरा भन्नुपर्छ । सूचनाको साम्राज्य रहेको आजको युगमा सूचना प्रविधिको सहाराले मैले पनि वास्तविकता भन्नैपर्छ । ममाथि लागेका एकपक्षीय आरोपहरु चुपचाप सहने हो भने ती सबै काल्पनिक प्लटहरु सत्य हुन जानेछन् । म यतिबेला सम्मानित अदालतलाई सहयोग गरिरहेको छु र निरन्तर सहयोग गरि नैं रहनेछु किनकि म विधिको शासनमा विश्वास गर्ने एक कत्र्तव्यपरायण र राष्ट्रभक्त राष्ट्रसेवक हुँ । तर दिप बस्न्यात र उनीद्वारा नियोजित रुपमा परिचालित भएको स्वार्थी समूहले जसरी मेरो सामाजिक प्रतिष्ठामाथि हठात् धावा बोलेको छ त्यसको भने मैले प्रतिरक्षा गर्न पाउनुपर्छ ।

जुन दिन देखि चेत खुल्यो त्यहि दिनदेखि म निरन्तर आफूले आफैलाई फलामे अनुशासनमा बाँधेर मेहनत गरिरहेको छु । विद्यालयको पढाइ होस्, घरको कुटोकोदालो र घाँसदाउरा होस् या मेरो जागिरे जीवन, म निरन्तर आफ्नो काममा पूर्ण प्रतिफल ल्याउने गरि लागिपरिरहेँ । मलाई थाहा छ व्यक्तिको, समाजको र देशको परिवर्तन कुनै गफको भरमा हुदैन । बिषयको गहिराइमा पुग्दै नपुगि भीडको पछाडि दौडिने हाम्रो मानसिकताले पनि हँुदैन । संसारका कुनैपनि सफल व्यक्ति, समाज र देशको पिडादायी इतिहास पनि मैले गहिरो गरि अध्ययन गरेको छु । सबै विषयको अध्ययन र आफ्नो भोगाइको निर्मम शिक्षा भनेको के हो भने बिना कुनै मेहनत र संघर्ष न व्यक्ति, न समाज अनि न देश नैं सफल हुन सक्छ । हो, म स्याङ्जामा सामान्य पाखोबारी र खेतगरो भएको एक किसान परिवारमा जन्मिएको अति सामान्य नागरिक हुँ । एक निम्नवर्गीय परिवारका छोराछोरीले आफ्नो जीवनमा भोग्नुपरेका सबै दुःख, कष्ट र संघर्ष मैले पनि भोगेको छु भलै म ती दुःखकष्टलाई मेरो भाग्यले होइन कर्मले बदल्न सकिन्छ भन्ने विश्वासका साथ अघि बढेको मान्छे हुँ । सबैसँग सकारात्मकताका साथ समभाव राखेर चुपचाप आफ्नो कर्तव्यपालन गरिरहने म आज भने आफ्नै बारेमा बोलिरहेको छु । हो, मैले आफ्नै बारेमा बोल्नु परेको छ किनकि ममाथि जबर्जस्त रुपमा लगाइएका संगीन आरोपहरुको खण्डन गर्नुपूर्व मेरो आफ्नै बारेमा पनि केहि वास्तविक कुरा भन्नुपर्ने मैले ठानेको छु ।

यो समाज जसले मलाई चिन्दैन, फगत पत्रिकाका पन्नाहरुमा प्रायोजित ढंगले भरिएका झुट्टा अक्षरहरुका माध्यमद्वारा मलाई चिन्ने प्रयास गर्दछ । हाे त्यसलाई मैले मेरो परिचय दिनुपर्छ । निर्दोष समाजलाई के थाहा कि मलाई राक्षसीकरण गर्न ती पत्रिकाका पन्नाहरुमा बनिबनाउ प्लटहरु छापिन्छ । झूट त्यो पनि सफेद झूटहरुलाई समाजमा समाचार बनाएर पस्किइन्छ । नितान्त मलाई बदनाम गराउन टेलिभिजनका स्क्रिनहरुहरुमा मेरा विरुद्ध बिष ओकल्ने काम गरिन्छ । र यो समाज जो ती सबै सफेद झूटहरुलाई सत्य सम्झिन्छ र मलाई बदनाम गर्न पृथ्वीको कुनैपनि गोलाद्र्धबाट कम्मर कसेर न्वारानदेखिको बल प्रयोग गरेर आगो ओकल्छ । हो, ती सबै झूटहरु हुन्, ती त फगत मलाई बदनाम गराउन खरिद गरिएका पत्रिकाका निर्जिव पन्नाहरु हुन् । ती पत्रिकामा छापिएका कुनैपनि अक्षरहरुमा जीवन छैन र टेलिभिजनमा बोलिएका वाक्यांशहरुमा पनि जीवन छैन । किनकि झूट र पैसामा खरिद गरिएका प्रायोजित शब्दहरुमा जीवन हुदैन । त्यो त फगत नगरवधुहरुले पैसामा साँटेको यौवनजस्तै हो । त्यहाँ फगत इमोसनको आगो निभाउन सकिएला, तर त्यहाँ न जीवन हुन्छ न भावना नै ।

सरकारद्वारा गठित कर फछर्यौट आयोगमा सदस्यका रुपमा रहेर मैले अहोरात्र खटि पुर्याएको योगदानको बदलामा मलाई आफ्नो स्वार्थसिद्ध गर्न नमानेको भन्दै दिप बस्न्यातले संवैधानिक आयोगको पदको गम्भीर दुरुपयोग गर्दै आक्रमण गरे । संविधान र कानूनतः उनले चालेको कदम गैरकानूनी थियो र समयक्रमसँगै उनले तयार गरेको षड्यन्त्रको पर्दा च्यातिँदै जाँदा मलाई जे जसरी प्रताडित बनाउन चाहन्थे त्यो कुत्सित उद्देश्य पूरा नहुने देखेपछि मलाई जसरी पनि दुःख दिइरहन अकूत सम्पत्तिको आरोप लगाउँदै छानबिनको नाटक रचियो । र आज म ती दुबै अभियोगका बारेमा सम्मानित अदालतले मागेका कागजहरु जम्मा गर्दै न्यायनिरुपणमा सहयोग गरिरहेको छु । जुन संगीन आरोप बस्न्यात र उनको स्वार्थसिद्धिमा दुरुपयोग भएको तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगायो, हो यस बारेमा मैले सत्यतथ्य आम जनता समक्ष राख्नुपर्ने हुन्छ ।

एकातिर दिप बस्न्यातले मलाई गैरकानूनी रुपमा नियन्त्रणमा लिएर आफ्नो पद र मर्यादाको चरम दुरुपयोग गर्दै हिरासतको कालकोठरीमा कठोर मानसिक यातना दिइरहेका थिए । उनको आदेशको शिरोपर गर्ने जिम्मेवार सुरक्षाकर्मी आफ्नो पदीय मर्यादा र लोकतान्त्रिक शासन प्रणालीलाई मजाक उडाउँदै मेराे हत्या गर्ने सम्मका गैरजिम्मेवार धम्की दिइरहेका हुन्थे । एकातिर मलाई आफ्नो नियन्त्रणमा उनले शारीरिक र मानसिक यातना दिइरहेका थिए भने अर्कोतिर उनकै कार्यकक्षमा मलाई सामाजिक रुपमा कसरी बदनाम गराउन सकिन्छ भनेर निरन्तर झूटको तानाबाना सहितका नक्कली कथाहरु सिर्जना गरिन्थ्यो । बस्न्यातकै कार्यकक्षमा उनकै मुख्य योजनामा उनको स्वार्थी समूह बसेर मेरो सामाजिक प्रतिष्ठामाथि धावा बोल्ने उद्देश्यले विभिन्न कथाका प्लटहरु तयार गरिन्थ्यो र तिनै प्लटहरुलाई समाचार भन्दै अर्को दिन पत्रिकाका प्रायोजित पानाहरुमा छापिन्थ्यो । समयले सबै कुराको उत्तर दिँदै जाला तर मलाई भन्न मन लागेको छ । दिप बस्न्यात र उनको टिम त मेरो चरित्र हत्या गर्ने योजनामै थियो त्यसमा केहि गुनासो छैन, दया त उनीहरुको लाग्छ जो सत्यतथ्यको कुनै उत्खनन नैं नगरि दिप बस्न्यातको कार्यकक्षमा बसेर तयार गरिएको प्लटलाई समाचार भनि आम पाठकहरुलाई भ्रममा पारिरहेका थिए र आजपर्यन्त गरि नैं रहेका छन् ।

व्यवसायिक पत्रकारिताको खोलभित्र मेरा विरुद्ध दिप बस्न्यातको योजनामा रचिएका केहि बनिबनाउ प्लटहरु जुन पत्रिकाका मुख्य पृष्ठमा छापिएका थिए ती यस्ता थिए । जस्तो, बुढानिलकण्ठमा २१ आनामा बनेको मेरो अढाई तले घर छ । दशकौ अघि जुनबेला केहि लाखमा मात्रै रोपनी जग्गा किन्न पाइन्थ्यो त्यो बेला किनिराखेको जग्गामा बनेको त्यो अढाई तले घरलाई २६ रोपनीमा बनेको हाइटेक घुम्ने घर भनियो जहाँ स्वीमिङ पुल देखि अटोमेटिक ७ वटा गेट रहेको समेत भन्न भ्याइयो । र भनियो, त्यस २६ रोपनी जग्गाभित्रको खुल्ला चौरमा १७ वटा कुकुरको बथान समेत मैले पालेको छु भनेर । मेरो घर भत्किएको छैन, आँगन पुरिएको छैन । आज पनि सबै समाजका जिम्मेवार नागरिकलाई एकपटक मेरो घर प्रवेश गरेर सबै हेरिदिन आग्रह गर्दछु । र, त्यसरी बनिबनाउ प्लट छाप्ने व्यवसायिक पत्रकारहरुलाई पनि विनम्र आग्रह गर्दछु, कृपया रिङरोडबाट जम्मा ४/५ किलोमिटर पर रहेको मेरो घर एक पटक भ्रमण गर्ने कष्ट उठाइदिनुभएको भए हुने । न त्यो घर २६ रोपनीको कम्पाउण्डमा बनेको छ, न त्यहाँ स्वीमिङ पुल छ, न ७ वटा अटाेमेटीक गेट छ । १७ वटा होइन हामीले एउटा पनि कुकुर पालेका छैनौं । त्यसपछि मेरो श्रीमतीले तरकारी किन्न जानका लागि समेत करोडौंको गाडी प्रयोग गर्ने कुरा समेत सगौरव पत्रिकामा छापियो । तर मेरो घरमा ८ लाख ११ हजार पर्ने मारुती अल्टो त्यो पनि लिलाम सकारेको सेकेन्ड हेण्ड गाडी छ । मैले प्रयोग गर्ने या मेरो परिवारले हाम्रो नीजि प्रयोजनका लागि प्रयोग गर्ने हाम्रो सवारी साधन त्यहि नैं हो । र म सेवामा कार्यरत रहँदासम्म मलाई सरकारले सवारी साधन दिइरहेको थियो त्यो सबैले पाएकै छन् ।

सत्यतालाई थोरै तोडमोड गरेको भएपनि चित्त बुझाउने अवस्था रहन्थ्यो तर यहाँ पूरै शतप्रतिशत झूटलाई बे्रकिङ समाचार बनाएर समाजमा समाचारको नामबाट बनिबनाउ प्लटहरुलाई पस्कियो । मेरो लगन, मेहनत र परिश्रमको पसिनाले म आफैले स्वाभिमानपूर्वक निर्माण गरेको मेरो सामाजिक प्रतिष्ठालाई धुलिसाद बनाउने काम गरियो । प्रिय समाज, यस्तो झूटलाई पत्याएर मलाई राक्षसीकरण गर्नुपूर्व मेरो घरमा एकएक गरि आएर हेरिदिनुहोस्, वास्तविकता आफै थाहा पाइहाल्नुहुन्छ नि । आफू सधै स्वतन्त्रताको पक्षपाती रहँदै आएँ, मलाई लाग्थ्यो राज्यको जिम्मेवार पेशाभित्र पर्ने चौथो अंगको पहिचान बनाएको पत्रकारिता सम्मानित पेशा हो । यति पवित्र पेशामा म आफू हुन नसकेकोमा समेत पछुतो हुन्थ्यो । तर जब यहि पवित्र पेशालाई कसैले प्रयोग गर्ने हतियार बनाएको देख्दा उदेक लागेर आइरहेको छ ।

मेरो सम्पत्तिको बारेमा जबर्जस्त विवाद खडा गरेपछि मैले पनि आफ्ना कुरा भन्नु परिरहेको छ । मेरो निजी सम्पती के हो, त्यो अकुत हो कि कानूनसम्मत हो, समाजमा खडा गरिएको भ्रमजस्तै मेरो सम्पत्ति छ कि त्यस्तो छैन । यी सबै प्रश्नहरुको एकएक उत्तर मैले सम्मानित अदालत समक्ष बुझाएको छु । र, राष्ट्रसेवामा संलग्न भएका नाताले एकएक स्टेपको सम्पत्ति विवरण तालुकदार निकायमा पटक पटक बुझाएको पनि छु । तर सम्पत्तिको विवरणात्मक प्रस्तुति पस्किएर प्रिय पाठकहरुलाई अल्मल्याउनु भन्दा पनि आफ्नो पृष्ठभुमि चाहीँ भन्नैपर्ने हुन्छ । हो, म एक सामान्य परिवारको मान्छे हुँ । मैले पहिले नैं पनि भनेँ– म एक सकारात्मक उर्जाले भरिएको मानिस हुँ । आज पनि मसँग संधै कुनैपनि काम सहजै सफलतापूर्वक निरुपण गर्ने क्षमता छ । मैले आजसम्म राज्यले दिएका सबै जिम्मेवारीहरु तोकिएकै समयमा कानूनको पूर्ण पालना गरि सफलतापूर्वक निरुपण गरेको छु । सत्यपथमा सकारात्मक भावनाका साथ कानूनलाई शिरोपर गरि आफ्नो कर्तव्यपथमा निरन्तर लम्किरहेको मलाई जबर्जस्त विवादमा ल्याउने प्रयास गरि मेरो यात्रामा बेक्र लगाएपछि मलाई सोच्ने समय मिलेको छ । आफ्नो विगतलाई एकपटक सम्झिने अवसर मिलेको छ ।

म सम्झिन्छु बिहानभरी बारीमा काम गरेर विद्यालय गएको र फर्किएर फेरि घरमा बा-आमालाई मेलापातमा सहयोग गरेको मेरो त्यो स्कुले जीवन । अबेर रातीसम्म टुक्की बालेर आफ्ना गृहकार्यहरु गर्ने गरेको मेरो त्यो कठिनतम बाल्यकाल । त्यहि कष्टसहित पढ्ने म पढाइमा पनि सधैं अब्बल थिएँ । मेरो कडा मेहनत पढाइमा मात्रै होइन मेलापात र घाँसदाउरामा पनि उत्तिकै परिणाममुखी हुन्थ्यो । प्रवेशिका परीक्षापछि मेरा साथी सहपाठीहरु अभिभावकले पठाएको पैसामा कलेज पढिरहेका थिए । म भने कलेजसँगै आफ्नो सीपको सदुपयोग गर्दै पढाइ सँगसँगै ट्युसन सेन्टर स्थापना गरि आफ्ना साथीभाई र आफूभन्दा जुनियरहरुलाई पढाउन थालेँ । त्यो बेला पोखरामा मैले स्थापना गरेको ट्युसन सेन्टर यति चलेको थियो कि म घर जाँदा पचासौ हजार पैसा बोकेर बालाई दिन सक्ने भएको थियो । आज सम्पत्तिको कुरा गरिन्छ । जुनबेला म ट्युसन पढाएर मात्रै पचासौं हजार बालाई दिन सक्ने सामथ्र्य राख्थेँ, हो त्यतिबेला पोखराको मुटुमै केहि हजारमै रोपनी जग्गा पाइन्थ्यो । यद्यपि मैले त्यो पैसा त्यसरी सदुपयोग गर्ने बुद्धि पुर्याउन सकिनँ । मैले २ बर्ष करिब चलाएको ट्युसन सेन्टरबाट गरेको आम्दानी मात्रै सहरी क्षेत्रमा लगानी गरिदिएको भए मैले र मेरो सन्ततिले समेत केहि काम नगरि खान पुग्न सक्थ्यो होला ।र जानकारी गराऊँ, म २०४५ सालबाट सरकारी सेवामा प्रवेश गरेको । मलाई अहिले पनि याद छ मेरा साथीहरु कार्यालयको काम सकिएपछि बेसीसहरका भट्टीहरुमा भट्टीवालीसँग सोमरससँगै गप्फिएको तर म भने त्यसबेला बेसिसहरका प्रत्येक घरगल्लीहरुमा आफ्नो नयाँ ट्युसन सेन्टरको सपना साकार पार्न पम्प्लेट र गम बोकेर चहारिरहेको । अनि घरघर र बेसिसहरका स्कूल स्कूलमा पुगेर आफ्नो टयुसन सेन्टरको प्रचार गरेको । हो अब आफै भन्नुहोस् कार्यालय समयभन्दा बिहानको समय चिया पसलमा गफ चुट्ने र कार्यालय समयभन्दा पछिको समय भट्टी पसलमा बसेर रमाइलो गर्ने मेरा सहृदयी मित्रहरुको आर्थिक अवस्था मजबुत हुन्छ कि कार्यालय जानुपूर्व तिन पिरियड र कार्यालय समय सकिएपछि अर्को तिन घण्टा पसिना बग्नेगरि मेहनत गर्ने मेरो । फेरि म ट्युसन पढाउने शिक्षक मात्रै थिएनँ, ट्युसन सेन्टरको सञ्चालक पनि थिएँ । स्वभाविक रुपले मेरो आर्थिक स्थिति मजबुत बनाउन मेरो तलब बाहेक पढाएर आउने आम्दानीको मजबुत भुमिका रहेको थियो । अहिले सोच्छु, लमजुङमा बस्दा मैले कमाएको पैसाको पनि मैले व्यापारिक दृष्टिकोणले लगानी गर्न सकिनँ । यदि त्यस्तो हुन्थ्यो भने मेरो सम्पत्ति अहिले समाजको आँखामा धुलो छर्न देखाइएको भन्दा पनि बढी हुन सक्थ्यो कि । तर मैले त्यस्तो गरिनँ । मेरा बाआमा र मेरो परिवारको अवस्था मजबुत बनाउन आफ्नै गाउँ स्याङ्जामा केहि हल खेत र पाखो किन्नु बाहेक अन्य आधुनिक लगानीको बाटो मेरो दिमागमा आएन । र अर्कोकुरा, त्यसरी दिनभर अफिसमा काम गर्दै आफ्नो जिम्मेवारी सफल रुपमा सम्पन्न गरेर, बिहान बेलुका आफ्नो टयुसन सेन्टर पनि पूर्ण सफलताका साथ सञ्चालन गरेर प्राइभेट मार्फत राम्रो प्रतिशत सहित मैले मेरो स्नातक तहको अध्ययन पूरा गरेको थिएँ । यो समाजमा मभन्दा बढि मेहनत गरेर मभन्दा पनि कैयन् गुणा बढि मेधावी भएर अगाडि बढेका कैयन् स्वनामधन्यहरु छन् जो कुनैपनि पेशा, व्यवसाय होस् कि स्वदेश विदेश नैं होस् आफ्नो पसिनाको परिणामले गर्विलो जीवनयापन गरिरहेका छन् ।

स्नातक तह उत्तिर्ण गर्नेबित्तिकै मैले एकैपटक विभिन्न ६ वटा सेवामा सबै क्षेत्रमा लोकसेवामा नाम निकालेको कुरा त धेरै जसो पाठकहरुलाई जानकारी छँदैछ । लोकसेवाका कुनैपनि परीक्षामा जुन क्षेत्रमा परीक्षा दिएँ, सोहि परीक्षामा मैले उत्कृष्ट रुपमा नाम निकालेको थिएँ । जुन विषयलाई तत्कालीन आमसञ्चारका माध्यमले समाचार नै पनि बनाएका थिए । मैले अहिलेसम्म लोकसेवा र विविध बिषयका ४५ वटा पुस्तक निकालेँ र ती पुस्तकका १६९ संस्करण प्रकाशित भइसकेका छन् । मलाई पुस्तक निकालेर पैसा कमाएको भनेर समेत सामाजिक रुपमा गिज्याउने काम गरियो । कति मानिसहरुले जानेर पनि योजनाबद्ध रुपमा मलाई बदनाम गराउन पुस्तक निकालेर पैसा कमाउन नसकिने कुरा गरे, कतिले त्यस्तो योजनालाई बुझ्दै नबुझी झूटा र अर्थहीन समाचारलाई पत्याएर होमा हो मिलाए, बिचरा उनिहरुलाई कोहि मानिस मेहनत गर्दा सफल हुन्छ भन्ने समेत हेक्का भएन । जीवनमा एउटा पुस्तक निकालेर त्यहि बेचेर जीवन चलाइरहेकाहरु पनि छन् र आक्कलझुक्कल पत्रपत्रिकामा लेख छपाएर जीवनयापन गर्ने मानिसहरु पनि छन् । मेरा त ४५ वटा पुस्तकरु प्रकाशित भए र ती सबैका कैयन् संस्करण छापिए । नेपाल सरकारका विविध सेवामा सेवारत र सेवा प्रवेशको प्रयास गरिरहेकामध्ये कसले मेरो पुस्तक किनेर नपढेको होला । सुरुमा म लेख्थेँ, मेरो पुस्तक अन्य प्रकाशन गृहले प्रकाशन गर्थे तर किताबहरुको माग निरन्तर बढ्न थालेपछि आफै प्रकाशन समेत गर्न थाले । मैले अधिकृतमा सेवा आरम्भ गरेपछि धेरै जसो महत्वपूर्ण अड्डामा आफूले सेवा गर्ने अवसर पाएको थिएँ । मलाई पनि दिनभरि काम गरेपछि बेलुका गएर आफन्त, साथीभाई र परिवारजनसँग गफ गर्दै रमाउन मन नभएको कहाँ हो र ? मेरा कैयन् मित्रहरु त्यस्तै गर्छन् तर मैले त्यसरी आफूलाई कहिल्यै फुर्सदमा राखिनँ । आज पनि मेरो दिन बिहान ४ बजे सुरु भएर बेलुका ११ बजेसम्म निरन्तर कर्मशील र सिर्जनशील भएरै बितिरहेको छ । म समयको पूरा सदुपयोग गर्छु, कडा मेहनत गर्छु । राष्ट्रसेवक भएकाले अन्यत्र मैले मेहनत लगाउन नपाउने भएपछि सिर्जनशील भएर पुस्तक रचना गरेर बिताएँ । ज्यादा मेहनत गर्दा मेरा किताबहरुको माग बजारमा बढ्यो, बिक्रिवितरण भयो । यसमा मैले के अपराध गरेँ र ? आफूले जानेको विषय अन्य पुस्तालाई हस्तान्तरण गरें । त्यसबाट प्राप्त भएको रोयल्टी मैले पाउँदा मेरो आर्थिक जीवन पनि सहज भयो । यसमा मैले देशलाई के अपराध गरे ? यतिमात्रै होइन, कैयन बर्षदेखि म लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गर्ने संस्थाहरुको एक नम्बरको प्रशिक्षक हुँ । कार्यालय जानुपूर्व आज पनि म कैयन् घण्टा पढाउन पुगिरहेको हुन्छु । महत्वपूर्ण विभागको नेतृत्वमा पुगिसकेपछि पनि मैले आफ्नो दैनिकीमा कुनै परिवर्तन ल्याइनँ । तर कार्यालयको काम पनि मैले संधै समयमै र सफल रुपमै निरुपण गरेको छु । मैले आन्तरिक राजस्व विभागमा मात्रै तिनवटा सरकारसँग काम गर्ने अवसर पाएको छु । त्यतिबेलाको ट्रयाक रेकर्ड र परिणाम हेरे सबैले प्रष्टसँग बुझ्ने नैं छन् ।

मेरो जागिर, मैले प्रकाशन गरेका किताब र मैले प्रवेशिका पास लगत्तैदेखि सुरु गरेको टयुसन र पछि लोकसेवाका तयारी कक्षाको प्रशिक्षण आज सम्म जारी छ । मेरो आम्दानीका श्रोत र क्षेत्र भनेका तिनै हुन् । तर मलाई बदनाम गराउन सम्भव भएका कुराहरुलाई पनि असम्भव जस्तो गरि मलाई राक्षसीकरण गर्न लगाइयो । मैले निरन्तर मेहनत गरँे, कामलाई आफ्नो धर्म सम्झिएँ र सधंै समयको खयाल गरि आफूलाई निरन्तर परिश्रममा प्रतिबद्ध बनाइराखँे । एकैपटक लोकसेवा आयोगका धेरै परीक्षामा पास गरेँ, उपसचिव र सहसचिव समेत प्रतिस्पर्धामा अब्बल दरिएर नाम निकाल्न सफल भएँ । मिल्ने भएको भए मेरो चरित्र बद्नाम गराउन उद्धत मेरा प्रिय मित्रहरुले चुडामणी शर्मा लोकसेवामा समेत पास भएको होइन, उसले पैसा खुवाएर नाम निकालेको भन्न भ्याउँथे होला । धन्न त्योसम्म भन्न भ्याएनछन् । म मेधावी थिएँ, मेहनती थिएँ र अनुशासित थिएँ । त्यहि भएर मेरा कैयन् सहपाठीहरुभन्दा अब्बल भएँ । केहि सफलजस्तो पनि देखिएँ । यद्यपि म भन्दा पनि नेपालको सार्वजनिक प्रशासनमा कैयन् मेधावी मेरा अग्रज, सहपाठी र मित्रहरु हिजो पनि थिए, आज पनि छन र भोलि पनि हुनेछन् । तर जो थिएनन् उनिहरुका लागि म टार्गेट थिएँ । मौका पाउने बित्तिकै ती सबैसबै मेरा मित्रहरु पनि मलाई बदनाम गराउन र मेरो निरन्तर सफलताको यात्रामा ब्रेकर लाउन उद्धत भए । ती सबैलाई पनि एकमुष्ट धन्यवाद छ ।

मैले मेरो लगन, मेहनत र क्षमतालाई विदेशमा बेचिनँ, आफ्नै माटोमा निरन्तर पसिना बगाएँ र मलाई कानूनले दिएको अधिकार प्रयोग गरेर सधैं दिएको जिम्मेवारी पूरा गरेँ । त्यो पनि सफल रुपमै पूरा गरेको थिएँ । कर्तव्यपरायण भएर राष्ट्रको सेवामा आफूलाई समर्पित गरिरहँ । सायद त्यसकै परिणाम होला, मलाई भ्रष्टाचारीको आरोप लगाउँदै यो समाजमा मलाई बदनाम गराउने काम गरियो । परिश्रमको पसिनाबाट निर्माण गर्दै गरेको मेरो प्रतिष्ठाको सानो उचाइलाई तासको घर जस्तै भताभुङ्ग पार्न खोजियो । मसँग मेरो पारिवारिक बिरासत थिएन, जे गरेँ मैले आफ्नै बलबुताले गरेको थिएँ । नेपालमा म आफू मात्रै राम्रो भएर हुने थिएन त्यसैले सबै प्रकारका प्रवृत्तिसँग कानूनले दिनेसम्मको समभाव र सकारात्मक व्यवहार गरेँ । त्यसको परिणाम आज मलाई बदनाम गराइदैछ र जो कामचोर छन्, जो भ्रष्टाचारमा लिप्त छन् उनीहरुले नै मलाई भ्रष्टाचारी भनिरहेका छन् ।

मलाई लगाइएका संगीन आरोप र त्यसको गर्भमा तयार गरिएका षड्यन्त्रका तानाबानाको बारेमा समेत म निक्कै जानकार छु । समयक्रमसँगै ती षड्यन्त्रका पर्दाहरु धुजाधुजा हुने नैं छन् । आज यति भन्छु, कर फछ्र्यौट अयोग भनेको के हो, यो किन निर्माण गरिएको थियो, यसलाई के कति अधिकार दिइएका छन्, यसमा कस्ता कस्ता विषयहरु समावेश भएका हुन्छन् । फछ्र्यौट सुरुगर्दा जे अंक देखिएको हुन्छ त्यो सबै राज्यले पाउने रकम हो कि त्यसमा परिस्थितिले जे जति राज्य कोषमा ल्याउन सकिन्छ त्यो चाहिँ राज्यको अंक हो ? म संलग्न भएको आयोगले के केति असुलउपर गर्यो र स्वयम् दिप बस्न्यात मेरो भूमिकामा रहेका बेला के कसो गरियो, कति फछ्र्यौट अंक थियो र कति राज्यको ढुकुटीमा जम्मा गरियो, विद्वान पाठकहरुले मुलुकले दिएको सूचनाको हकको उपयोग गर्दै सम्बन्धित निकायबाट त्यसको विवरण लिएर सरसर्ती हेर्दा ममाथि कर फछ्र्यौटको नाममा आक्रमण किन गरियो, त्यो कानूनसम्मत थियो कि थिएन भन्ने प्रष्टै हुन्छ । यदि त्यसरी छानबिन गर्नै नै हो भने त्यस अघिका सबै आयोगको अंक हेर्दै छानबिन किन नगर्ने त ? यी निकै महत्वपूर्ण बिषयहरु हुन् । के हाम्रो समाज यी गहन प्रश्नहरुको कम्तीमा गहिराइ खोज्न सक्ला ? म एकान्तमा बसेर सोचमग्न भइरहेको छु । शतप्रतिशत झूटलाई साँचो मानेर होमा हो मिलाउने यो मेरो समाज त्यसो गर्ने छैन । हो, विषयको सत्यता बुझ्दै नबुझी झूटको लहलहैमा होहल्ला गर्ने हाम्रो समाजले हाम्रो देशको भविष्य कहाँ पुर्याउला ? समाजले बुझ्ने चेष्टा नगरेपनि म क्रमशः आफ्नो बलबुताले भ्याएसम्म यी विषयहरुको उजागर गरि नैं रहनेछु ।

तर आज यो लेखोटको अन्त्यमा जम्मा एउटा प्रसंगतर्फ सचेत पाठकहरुको ध्यानाकर्षण गराउनुपर्छ । नेपालमा व्यवसाय गरिरहेको निजी दूरसञ्चार प्रदायक कम्पनी एनसेल आजसम्म आइपुग्दा या भनौं म आन्तरिक राजस्व विभागको महानिर्देशक रहुन्जेल करिब एक दर्जन पटक बिक्रीवितरण भएको छ । कुनैपनि व्यापारको किनबेचमा साधारणतया शेयर पूँजी निरन्तर बढिरहेको संस्थाको किनबेच बिना फाइदा हुँदै हँदैन । पछिल्लो पटक एनसेलको आयकर या भनौं नाफा गरेबापत राज्यलाई बुझाउनुपर्ने कर म आन्तरिक राजस्वको महानिर्देशक भएका बेला मात्रै उठाइयो । जसबाट राज्यकोषमा कति रकम जम्मा भयो त्यो सबैलाई जानकारी छँदैछ । तर त्यसअघि एक दर्जन पटक त्यसको स्वामित्व बिक्री वितरण गरियो, हो त्यसबेला बिक्रीवितरणमा भएको नाफाको कर राज्यलाई बुझाउनुपर्ने थियो । त्यसको के भयो होला ? ती सबै पटक कहाँ के कसो भयो होला ? त्यसको उत्तर हाम्रो समाजले खोज्नु पर्ला कि नपर्ला ? मलाई थाहा छ, म विभागको नेतृत्वमा रहँदा अख्तियारका तत्कालिन आयुक्त दिप बस्न्यातले एनसेलले तिनुपर्ने राजस्व नतिराउन गरेको मेहनत मैले देखिरहेको छु । सायद मैले उनको गलत प्रस्ताव स्वीकार गरिनँ र एनसेलबाट राज्यले त्यसबेला पाउनुपर्ने राजस्व राज्यकोषमा दाखिला गराएँ । र, आज त्यसकै परिणामस्वरुप दिप बस्न्यात र उनको निहित स्वार्थमा तल्लीन भएको समूहले मलाई भ्रष्टाचारीको बिल्ला भिरायो र उनको जुठोपुरो प्राप्त गरेका केहि बनाम व्यवसायीकहरुले मलाई सामाजिक रुपमा बदनाम गराउन आफ्नो इमान दाउमा लाए । हो, अहिले यत्ति भन्छु– दिप बस्न्यात र उनको समूहद्वारा रचिएको षड्यन्त्रको पर्दाफास त अवस्र्य हुनेछ तर झूटको पुलिन्दा निर्माण गर्दै मलाई गरिएको सामाजिक बदनामीको सोधभर्ना मैले कसरी पाउने ? हो, त्यसका लागि म मेरो बलबुताले भ्याएसम्म सत्यको उजागर गर्न लागि नैं रहनेछु, किनकि यो मेरो पनि नैसर्गिक अधिकार हो ।