असार १५, काठमाडौं : सरकारले राष्ट्रिय धान दिवस मनाउन थालेको १५ वर्ष भयो । हरेक वर्ष असार १५ गते धान दिवस मनाए पनि धान उत्पादन वृद्धि नहुँदा वार्षिक अर्बौं रुपैयाँको चामल आयात हुँदै आएको नागरिक दैनिकले खबर छ ।

सरकारले चामललगायतका खाद्यवस्तु आयात प्रतिस्थापन गरी खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरे पनि चालू आर्थिक वर्ष ०७४–७५ मा साढे २४ अर्ब रुपैयाँको चामल आयात भएको छ । गत वैशाखसम्म चीन, भारत, थाइल्यान्ड, जापान, इटलीलगायतका मुलुकबाट २४ अर्ब ४९ करोड ८० लाखको चामल आयात भएको भन्सार विभागले जनाएको छ ।

सरकारले कृषि क्षेत्र लगानी गरेअनुसार उत्पादन वृद्धि नहुँदा खाद्यान्नमा विदेशीको भर पर्नुपरेको हो । यहाँ खपत हुने खाद्यान्न उत्पादन नभएपछि चामलसहित मकै, गहुँ, कोदो, फापरलगायत भान्सामा दैनिक प्रयोग हुने ३६ अर्ब ३४ करोड ८४ लाख रुपैयाँका अनाज आयात भएको छ ।

कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयले धान उत्पादन बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरे पनि प्रतिफल कमजोर छ । मौमसका आधारमा धान कति फल्छ भन्ने निर्धारण हुन्छ ।

चालू आर्थिक वर्ष ०७४–७५मा ५१ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएको छ । जुन गत आवको भन्दा ७९ हजार मेट्रिक टन थोरै हो । मौसम राम्रो हुँदा गत आव ०७३–७४ मा ५२ लाख ३० हजार टन धान उत्पादन भएको थियो ।