कल्याणी पाठक

जन्मदै कसैले पनि कुनै पनि विषयलाई आधार लिएर राम्रो, नराम्रो, उँच , निच र असल खराब छुट्याउन  जानेको हुदैन । साथै कोही पनि जन्मदै खराब अनि असल पनि हुदैनन् । तर हाम्रो आचरण र वातावरणको प्रभावस्वरुप  बालबालिकामा गलत सिकाइ पनि हुने गर्दछ । जस्तो अभिभावकले दलितलाई गरेको अनैतिक व्यवहार देखेर सम्बन्धीत अभिभावकको बालबालिकाले पनि त्यही सिक्नु  । त्यस्तै घरमा छोरा र छोरीमा गरीने विभेद पनि यसरी नै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण  हुदै आएको छ  ।  अर्थात हाम्रो वर्तमान पुस्तामै भर पर्छ कि आउने पुस्तालाई हामीले कस्तो शिक्षा दिने र कस्तो बनाउने भन्ने कुरा । यहाँ एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण भइरहेका धेरै गलत आचरणहरु मध्ये हामीले नै सिकाइरहेको आचरण हो सामाजिक विभेद । यसमा पनि अग्रपंक्तिमा देखिएको लैंगिक विभेद कुनै जन्मजात आर्जन होइन । यो त हामीहरुबाटै भएको सिकाइको प्रतिफल हो ।
घरमा होस् वा समाजमा । अनि विद्यालयमा होस् अथवा अरु कुनै पनि गतिविधिमा किन नहोस् । हाम्रो समाजले महिलालाई गरिरहेको व्यवहारको प्रभाव कलिलो वालमस्तिस्कमा प्रत्यक्ष वा अप्रत्यक्षरुमा हस्तान्तरण भइरहेको छ । हामी यसतर्फ कहिले पनि सचेत देखिएनौँ । हामी अभिभावकहरु नै छोरा र छोरीलाई एउटै शरिरको समान अंग मान्न तयार छैनौँ । छोरा र छोरीलाई दिइने फरक मान्यता र व्यवहारले आज पनि यी शक्तिहरुमा व्यापक अन्तर स्थापना गरेको छ । महिला र पुरुषबिच प्राकृतिक भिन्नता भए पनि हाम्रो समाजले दुवैलाई समान मानव शक्तिको रुपमा आज पनि स्विकार्न सकेको छैन । लैंगिक विभेदले प्रश्रय पाइरहेको छ ।
घरमा कुचो लगाउने काम आमाको । खाना बनाउने काम आमाको । कपडा धुने र घर रङेर बस्ने पनि आमा नै हुन्छिन् । त्यस्तै बाहिर शहर गएर सामग्री खरिद गर्ने बुबा । पढ्ने र ठूलो मान्टे  हुने पनि बुबा । जागिर खाएर कमाउने पनि बुबा नै हुन्छन् । सोही घरमा हुकीरहेका बालबालिकालाई यसको प्रत्यक्ष प्रभाव परिरहेको हुन्छ । फलतः बालिका कुचो लगाउन थाल्छिन् बालक पढ्न जान थाल्छ । हामी अभिभावकहरु पनि यसरी नै आफ्ना छोराछोरीलाई गलत धारणा सिकाइरहेका हुन्छौँ । घरको मात्र के कुरा हाम्रो समाजमा पनि पुरुषलाई नै प्रधान ठान्ने प्रवृत्ती छ । महिलाले नेतृत्व गर्न सक्दैनन् भन्ने अन्धविश्वासलाई प्रश्रय दिँदै महिलाको भूमिकालाई गौणबनाइरहेका छौँ । यसबाट पनि बालबालिकामा गलत सिकाइ हुन जान्छ ।
त्यस्तै बालबालिकालाई गलत आचरण सिकाउन विद्यालयले पनि प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेलिरहेका छन् । हाम्रा अधिकांश विद्यालयमा शिक्षक मात्र हुनुले महिला त घरमा नै भात पकाएर बस्ने प्राणी हुन् भन्ने अवधारणाको विकास हुनसक्छ । त्यती मात्र होइन , हामी शिक्षकहरु पठनपाठनको सन्दर्भमा महिला र पुरुषको भूमिका प्रस्तुत गर्दा हाम्रै समाजमा भएजसरी प्रस्तुत गर्न गर्छौँ । छोरी कुचो लाउँछे । छोरो गृहकार्य गर्छ जस्ता उदाहरण दिँदा त्यसले बालबालिकालाई महिला र पुरुषबीचको बुझाइमा  प्रभाव पार्न सक्छ । त्यस्ता थुप्रै विभेद जन्य उदाहरण र क्रियाकलापबाट हाम्रो पठनपाठन अछुतो रहन नसक्नुले पनि बालबालिकामा गलत सिकाइ भइरहेको कुरालाई नकार्न सकिन्न । हाम्रो शिक्षाको पाठ्यक्रम पनि यो विषयमा खासै सचेत देखिदैन ।
वास्तवमा वालबालिकालाई कस्तो बनाउने भन्ने कुराको निर्धाराण उनीहरुको सिकाइवातावरणले गर्दछ । परिवार, समाज र विद्यालयको व्यवहारिक गतिविधि र अभ्यास वालबालिकाका प्रत्यक्ष सिकाइका स्रोत हुन् । जन्मदा कोही पनि असल र खराब हुदैनन् । उनीहरुलाई असल बनाउने वा खराब भन्ने कुरा त हामी र हाम्रै वातावरणले निर्धारण गर्दछ । पढेका र घोकेका कुरा भन्दा देखेका र भोगेका कुरा वालबालिकाका लागि चिरस्थायी हुन्छन् । हाम्रो समाजमा जारी लैंिगक विभिदे पनि हाम्रै सिकाइको एक उपज हो । हामीले बालबालिकालाई यस्ता विभेदहरु गलत हुन् भनेर जति रटाए पनि आखिर उनीहरुले देखेको र भोगेको कुरानै स्थायी सिकाइमा रुपान्तरण हुने हुनाले यसतर्फ हामी सबै सचेत रहन आवश्यक छ । त्यसैले बालबालिकाहरुलाई यस्तो गलत सिकाइबाट बचाउने एउटै उपाए भनेको हामीले हाम्रो व्यवहारमानै सुधार ल्याउनु हो । अन्यथा हाम्रो आचरण, अभ्यास र वातावरणको फलस्वरुप हस्तान्तरण भइरहने विभेदको अन्त्य सम्भव छैन ।